नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन सोमबार बन्दसत्र, उम्मेदवारी दर्ता तथा विभिन्न व्यवस्थापकीय कार्यक्रमहरू सञ्चालन हुँदैछन्। महाधिवेशन व्यवस्थापनका तर्फबाट नेता रमेश धमलाले दोस्रो दिनको विस्तृत कार्यतालिका सार्वजनिक गरेका छन्।

सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान ७:३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ। त्यसपछि बिहान ९:१५ बजेबाट तीनवटा हलमा बन्दसत्र प्रारम्भ हुनेछ। बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ।

विधानमाथिको छलफलपछि दिउँसो ११:३० बजे प्रतिनिधिहरूका लागि भोजनको समय निर्धारण गरिएको छ।

यसैगरी महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ। इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।

भृकुटीमण्डपभित्र प्रचार सामग्रीमा रोक

कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन भृकुटीमण्डप कम्पाउन्डभित्र कुनै पनि किसिमका प्रचारप्रसारजन्य पर्चा, पम्प्लेट, पोस्टर, झण्डा तथा ब्यानर लैजान पूर्ण रूपमा रोक लगाइएको छ।

प्रतिनिधिहरूका लागि खानपानको व्यवस्था आयोजकले गरे पनि बासस्थानको हकमा प्रतिनिधिहरू स्वयंले व्यवस्था मिलाउनुपर्ने र आयोजकले संयोजनको भूमिका मात्र निर्वाह गर्ने बताइएको छ। व्यवस्थापन पक्षले प्रतिनिधिहरूलाई आवश्यक सूचना म्यासेज तथा मेसेन्जरमार्फत पठाइरहेको उल्लेख गर्दै महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।