प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका मुख्य क्षेत्रहरू सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका प्रमुख सडक तथा चोकहरूमा नेपाल र भारतका राष्ट्रिय झण्डासँगै प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीका तस्बिरहरू राखिएका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी मंसिर ६ र ७ गते (नोभेम्बर २२–२३) को राजकीय भ्रमणका लागि आज (आइतबार) दिउँसो नेपाल वायुसेवा निगमको उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्दै छन्।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने छन् भने नेपाल–भारत उद्योगी–व्यवसायीको अन्तरक्रियामा समेत सहभागी हुने छन्।

भ्रमणको मुख्य आकर्षणका रूपमा प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आर्थिक तथा ऊर्जा सहकार्य, व्यापार, हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुनुका साथै केही समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

यसैगरी, प्रधानमन्त्री शाहले सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने छन्।