मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी दिएको हो।

यसअघि यही मंसिर २९ गते (तत्कालीन मुख्यमन्त्रीको राजीनामापश्चात्) प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।

तर, प्रदेश प्रमुखको कार्यालयले तोकेको समयसीमाभित्र कुनै पनि दलले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न नसकेपछि संवैधानिक प्रावधानअनुसार ठूलो दलको नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त मुख्यमन्त्री यादवले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।