• प्रतिगमनविरुद्ध सडकमा कहिले कविता सुनाइन्छ । कहिले गीत गाइन्छ । कहिले नाटक प्रदर्शन हुन्छ । धिमे, मादल, च्याब्रुङको आवाज घन्किन्छ । प्रतिगमनलाई ललकार्ने ती आवाजहरूमा मिसिन्छ एउटा गीत ।

‘प्रतिगमनको प्रतिनिधि हो !
इतिहास फेरि यही सडकबाटै उदाउँछ
प्रतिगमनको उल्टो यात्रा यो
छिन्नभिन्न भई, तिम्रो दर्शनसँगै अस्ताउँछ…।’

‘जाऊ जाऊ जाऊ’ बोलको यो गीत एक महिना भयो युट्युबमा अपलोड भएको । संयोग नै भन्नुपर्छ, संसद विघटन भएको पनि एक महिना पुगिसक्यो । त्यसैले त,  प्रतिगमनविरुद्ध डटेर लडिरहेको नागरिक समाज र युवापुस्ताको नारा बनेको छ यो गीत ।

प्रतिगमनविरुद्ध नागरिक समाजले १८ पुसमा माइतीघर मण्डलामा गरेको विरोध कार्यक्रममा यो गीत पहिलो पटक घन्कियो । १२ माघको बालुवाटार मार्चमा पनि यो गीत घन्कियो । र, त्यहीँ त हो लाठी र पानीका फोहोरा बर्साइएको नागरिकमाथि ।

निरंकुशताविरोधी आन्दोलनमा । न्याय र सत्यका लागि उठ्ने आवाजमा गीत र कविताले प्राण भर्छन् । अहिले संसद् विघटनविरुद्ध भइरहेका आन्दोलनमा युवाहरूलाई जोस्याइरहेको छ यो गीत । हौस्याइरहेको छ यो गीतले ।

माइतीघर मण्डलामा गायक प्रदीप देवानले मणि थापाले लेखेको गीत गाएसँगै नारायण वाग्लेले टिप्पणी गरेका थिए, ‘गीतकार सत्तामा, गायक सडमा, गीत बिचल्लीमा ।’

तर, यतिखेर ‘जाऊ जाऊ जाऊ’का लेखक पनि सडकमै छन् । गायक पनि सडकमै छन् । संगीतकार पनि सडकमै छन् । खासमा यो गीत सडककै लागि लेखिएको हो । सत्ताले मौन बनाउन खोजिरहेकाहरूको आवाज बनोस् भनेरै यो गीत गाइएको हो ।

पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत आभाष श्रेष्ठ, जीवन तिमल्सिना, रोशन थापामगर र दीपकमल भुसालले एक महिनाअगाडि विद्रोहको यो गीति आवाज तयार पारेका हुन् । यी चारै जना संगीतका विद्यार्थी होइनन् ।

समयक्रममा गीतको सन्दर्भ पनि फेरिँदो रहेछ, प्रयोग उस्तै भए पनि प्रयोगको आशय फेरिँदो रहेछ । रामेशले प्रजातन्त्रका लागि गाएको ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत अहिले प्रतिगमनकारीहरूले नै प्रयोग गर्न थालेपछि नयाँ गीतको आवश्यकता महसुस गरे ‘जाऊ जाऊ जाऊ’का गायक रोशन थापामगरले ।

‘आन्दोलन त चर्किरहेछ, तर आन्दोलनमा बज्ने नेपाली गीतहरू खोइ ?,’ एक साताअगाडि, रोशन र उनका साथीहरू गफिँदै गर्दा प्रश्न उठ्यो ।

‘खोइ त ?,’ रोशनले प्रतिप्रश्न गर्दै भने, ‘भएका गीत पनि प्रतिगामीहरूले गाउन थाले । आन्दोलनका गीत लेख्नेहरू नै प्रतिगमनकारी सत्तामा सामेल हुन थाले ।’ नयाँ पुस्तालाई सुहाउने गरी नयाँ गीत चाहियो ।

यहीँबाट हो ‘जाऊ जाऊ जाऊ’ जन्मेको । यो गीत २०४७ सालको जनआन्दालोनको कविताबाट जन्मिएको हो । गीत बनाउन सकिन्छ कि भन्दै दीपकमल भुसालले आफ्ना बुबा कमल भुसालले २०४७ सालको जनआन्दोलनमा लेखेको कविता देखाए ।

‘अनि त्यही कविताबाट केही शब्दहरू लिएर यो गीत बनायौँ,’ रोशनले सुनाए ।

‘विश्वभरिका नश्लीय, भ्रष्ट र फासीवादी शासकका विरुद्ध ! युवा, महिला, दलित, पिछडिएका, अल्पसंख्यक, आदिवासी, जनजातिको पहिचान र समानताको प्रगतिशील आन्दोलनको समर्थनमा !,’ गीतको परिचयमा लेखियो ।

र, त्यसपछि आधुनिक शैलीको रक संगीतमा गीत बनाउने तय भयो । तर, रेकर्डिङका लागि स्टुडियो थिएन । ‘ल्यापटपमै रेकर्ड गर्ने,’ इन्जिनियरिङका विद्यार्थी न हुन् चारै जना, जुगाड निकालिहाले । रेकर्ड, मिक्सिङ, र भिडियोसम्मको काम ल्यापटमै फत्ते गरे ।

‘अहिलेका लागि मात्र होइन, सधैँका लागि यो गीत बाँचिरहोस् भन्ने लागेर गीत केही जंगी पाराको बनाएका छौँ,’ रोशन प्रष्ट्याउँछन् । चार जनाको टोलीले एक हप्तामै गीत तयार गर्‍यो ।

त्यसो भए के आन्दोलनका लागि मात्र हो त गीत चाहिएको ? मेरो मनमा जस्तै तपाईंको मनमा पनि प्रश्न उठ्यो होला ।

‘गीतको केन्द्रमा त आन्दोलन नै हो, सडक नै हो,’ रोशन सुनाउँछन, ‘अहिले भइरहेको आन्दोलन नयाँ पुस्ताले बुझून् भन्ने पनि हो ।’

युवापुस्तामा राजनीतिक चेतना विस्तार होस् । लोकतन्त्र, न्याय र समानताका लागि लड्नेहरूलाई बल पुगोस् भनेर यी तन्नेरीहरूले गीत गाएका हुन् । तर, यो त्यही सत्ता हो, जसले पशुपति शर्माको गीतमाथि अघोषित प्रतिबन्ध लगाएको थियो ।

गीत गाएकै आरोपमा भिटेनलाई पक्राउ गरेको थियो । यो त्यही सत्ता हो जसले सडकमा किताब पढेको आरोपमा विद्यार्थी पक्राउ गरेको थियो । त्यसैले त रोशन र उनका साथीहरू गीतमा भन्छन-

‘तिम्रो स्वार्थान्ध सत्ता उठाई, जाऊ
जाऊ जाऊ जाऊ !
तिम्रो नोकरशाही जत्था बोकी जाऊ ।’
‘गएनन् भने ?,’ म शंका गर्छु ।

‘संसारका हरेक तानाशाह, निरंकुशलाई सडकमा ओर्लेका नागरिकले फालेका छन्,’ ढुक्क सुनिन्छन् २५ वर्षीय रोशन ।

गीतको भिडियोमा वादी महिलाहरूको आन्दोलनदेखि गुठी आन्दोलन हुँदै इनफ इज इनफसम्मका भिडियो फुटेज राखिएका छन् । खोकना बचाउ आन्दोलनदेखि अमेरिकाको ब्ल्याक लाइभ म्याट्र हुँदै भारतको किसान आन्दोलनसम्मका भिडियो फुटेज राखिएका छन् ।

‘गीतबाट विश्वभर भएका घटनालाई पनि बुझाउने प्रयास गर्नलाई संसारभर निरंकुशताविरुद्ध भएका आन्दोलनका फुटेज प्रयोग गरेका हौँ,’ रोशनले भने ।

सडक संघर्षका लागि लेखिएको, गाइएको यो गीतले खोक्रो राष्ट्रवादको आडमा राष्ट्रमाथि अत्याचार गर्नेहरूलाई, नश्लीय राजनीतिको आडमा अल्पसंख्यकमाथि दमन गर्नेहरूलाई औँला उठाएर भन्छ, ‘जाऊ जाऊ जाऊ,’ अब तिम्रो काम छैन ।

‘यो देश बनाउने युवाहरूले हो । लोकतन्त्र बचाउने युवाहरूले हो । लोकतन्त्र तपाईंका लागि हो,’ प्रतिगमनविरुद्ध बानेश्वरको सडकमा भएको सांस्कृतिक कार्यक्रममा खगेन्द्र संग्रौलाले युवाहरूलाई आग्रह गरेका थिए । त्यसैले युवाहरूले गाएको यो गीत युवाहरूकै लागि हो । लोकतन्त्रकै लागि हो ।

गीत, संगीत, कवितामा व्यक्त हुने आक्रोश, प्रतिरोध नागरिकको भाषा हो । जोसँग सत्ताको शक्ति हुँदैन, शक्तिको उन्माद हुँदैन, उनीहरूसँग बलिया गीत हुन्छन्, कविता हुन्छन् ।

जसरी २०६२/०६३ को जनआन्दोलनमा बिसे नगर्चीको बयान थियो । रुविन गन्धर्व थिए । यस पटक हामीसँग छन् आभाष श्रेष्ठ, जीवन तिमल्सिना, रोशन थापामगर र दीपकमल भुसाल । र, उनीहरूले मुट्ठी उचाल्दै गाएको ‘जाऊ, जाऊ, जाऊ’ गीत ।