बेलायतले होर्मुज समुद्री मार्गमा गरिने कुनै पनि नाकाबन्दी अभियानमा सहभागी नहुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका र नेटो सहयोगी राष्ट्रहरू मिलेर उक्त जलमार्ग नाकाबन्दी गर्ने दाबी गरेका थिए।

ट्रम्पले “यो जलमार्ग सफा गर्न धेरै समय लाग्दैन” भन्दै बेलायतसहित धेरै देशले यसमा सहयोग गर्ने र बेलायतले ‘माइन’ (समुद्री बम) हटाउने जहाजसमेत पठाउने बताएका थिए।

तर, बेलायत सरकारले यस्तो नाकाबन्दीमा सहभागी हुने कुरालाई अस्वीकार गरेको छ। यद्यपि, बेलायतले यसअघि जलमार्ग सुरक्षित बनाउन सहयोग गर्न सक्ने सङ्केत भने दिएको थियो। उक्त क्षेत्रमा ‘माइन’ खोज्ने प्रणाली तथा ड्रोनविरुद्धको सुरक्षा क्षमता बेलायतले पहिले नै परिचालन गरिसकेको छ।

सरकारी स्रोतहरूका अनुसार ट्रम्पको मागबमोजिम जहाज पठाउँदा तनाव अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ‘माइन’ हटाउने कार्यमा सहयोग गर्नु र पूर्ण नाकाबन्दीमा सहभागी हुनुलाई बेलायतले फरक रूपमा हेरेको छ।

बेलायती सरकारका प्रवक्ताले भने, “हामी समुद्री मार्गमा स्वतन्त्र आवतजावत सुनिश्चित गर्न र उक्त जलमार्ग खुला राख्न सहयोग गरिरहनेछौँ, जुन विश्व अर्थतन्त्र र जनजीवनका लागि अत्यन्त आवश्यक छ।” उनले थपे, “यस जलमार्गमा कुनै पनि प्रकारको शुल्क लगाइनु हुँदैन र हामी अन्य साझेदारहरूसँग मिलेर बृहत्तर सहकार्यको तयारी गरिरहेका छौँ।”

बेलायती प्रधानमन्त्री किर स्टार्मरले यसअघि युरोप, खाडी मुलुकहरू र अमेरिकाबीच उक्त जलमार्ग पुनः सञ्चालन गर्न विश्वसनीय योजना बनाउनेबारे छलफल भइरहेको बताएका थिए।

यसैबीच, बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले ट्रम्पको भनाइलाई “उत्तेजक, भड्काउ र अस्वीकार्य” भन्दै आलोचना गरेका छन्। ट्रम्पले भने बेलायतको कदमको विरोध गर्दै प्रधानमन्त्री स्टार्मरलाई पूर्वप्रधानमन्त्री नेभिल चेम्बरलेनसँग तुलना गरेका थिए।

अमेरिका र इरानबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि दुई साताको कमजोर युद्धविराम पनि अनिश्चित बनेको छ। अमेरिकी उपराष्ट्रपतिले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता नजनाएका कारण सहमति हुन नसकेको बताएका छन्।