एसियाली विकास बैंक (एडीबी)ले नेपालका महत्वपूर्ण राजमार्गहरूको विस्तार र वन्यजन्तु संरक्षणका लागि करिब ४७ अर्ब २३ करोड रुपैयाँ बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ। राष्ट्र बैंकले तोकेको प्रतिअमेरिकी डलर १५४.४८ रुपैयाँको विनिमय दरअनुसार यो सहायता ४७ अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँ हुन आउँछ।
यस प्याकेजमा ४४ अर्ब दुई करोड ६८ लाख रुपैयाँ ऋण, तीन अर्ब आठ करोड ९६ लाख रुपैयाँ अनुदान र ११ करोड ५८ लाख ६० हजार रुपैयाँ प्राविधिक सहायता समावेश छन्। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यक्रमअन्तर्गत यो आयोजना अघि बढाइएको हो।
बरन्डाभार वन्यजन्तु करिडोरमा सवारीसाधन माथिबाट गुड्ने र वन्यजन्तु तलबाट सुरक्षित रूपमा आवतजावत गर्ने विशेष संरचना निर्माण गरिनेछ। यसले सडक दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
एडीबीका देशीय निर्देशक अर्नो कोस्वाले यातायात सम्पर्क सुधार हुनुका साथै जैविक विविधता संरक्षणमा पनि सहयोग पुग्ने बताए। अनुदान रकमबाट जैविक विविधता संरक्षण, चितवन क्षेत्रमा दिगो पर्यटन, सडक सुरक्षा र महिलाका लागि सीपमूलक तालिम सञ्चालन गरिनेछ।
साथै बाढीपहिरोको जोखिम घटाउन ढल निकास सुधार, तटबन्ध सुदृढीकरण र विपद् प्रतिरोधी पुलहरूको निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। विनिमय दरमा हुने फेरबदलसँगै नेपाली रुपैयाँमा आउने कुल सहायता रकम पनि परिवर्तन हुनेछ।


