काठमाडौं । नेपाल प्रहरीकाे अनुसन्धानमा रहेका बिचाैलिया इनम सापकाेटाले श्रीमती मार्फत मानवअधिकार आयाेगमा दिएकाे निवेदनले नेपाली कांग्रेसलाई झस्काएकाे छ ।  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले मानव अधिकार आयोगमा दिएको उजुरीबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न गरेका छन्। कांग्रेसले आज पत्रकार सम्मेलन पनि आयाेजना गरेकाे छ । उपसभापति शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने भन्दै धम्की दिएको भन्ने उजुरीको वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन्। ‘कांग्रेस सभापति गगन थापा लगायत व्यक्तिहरू विरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने !’ इनम सापकोटाकी श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ? मानव अधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?’ शर्माले लेखेका छन्। उनले पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा नराखी सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ,’ शर्माले लेखेका छन्। उनले प्रकरणमा जोडिएका विषयमा निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिनुपर्ने पनि बताएका छन्। सापकोटाकी पत्नीले आयोगमा दिएको उजुरीबारेको विवरण शुक्रबार सार्वजनिक भएको थियो।