बालेन र रविको ५ घण्टासम्मको भेटवार्तामा के–के गरे कुराकानी ?

सचिवालयले दुई नेताबीच आत्मीय र सौहार्दपूर्ण वातावरणमा समसामयिक राजनीतिक, कूटनीतिक तथा सरकारी कामकारबाहीबारे विस्तृत कुराकानी भएको दाबी गरेको छ ।

गत चैतमा प्रधानमन्त्री बनेयताकै पहिलो विदेश भ्रमणका रूपमा मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण सकेर फर्किएका शाहले भेटमा भ्रमणका उपलब्धिबारे लामिछानेलाई विस्तृत ब्रिफिङ गरेका छन् । एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले शाहको भ्रमणलाई ‘निजी र उपलब्धिविहीन’ भन्दै कटाक्ष गरिरहेका बेला र अर्कातिर भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत माओमिङले लामिछाने निवास पुगेर गरेको भेटले कूटनीतिक चासो बढाइरहेका बेला दुई नेताले भ्रमणको समीक्षा गरेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहको कार्यशैलीलाई लिएर पार्टी र बाहिरसमेत तीव्र आलोचना भइरहेको छ । विशेषगरी सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटाको मोबाइल फोन बेनको नियन्त्रणमा पुगेको प्रकरणले राजनीतिक वृत्त तताएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि जेनजी अगुवाहरूसम्मले सचिवालयमाथि छानबिनको माग गरिरहेका छन् भने रास्वपाभित्रै पनि विवादित न्यायाधीशमाथि महाभियोग लगाउने बहस सुरु भएको छ । यसअघि लामिछानेले सल्लाहकार परिवर्तन गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा दुई नेताबीच दूरी बढेको र लामिछानेले ‘सरकारको प्रतिपक्ष पनि हामी नै हौँ’ भन्ने असन्तुष्टि पोखेको चर्चा चलिरहँदा बिहीबार मन्त्रीहरूको कार्यसम्पादन र सरकारका कामकारबाहीबारे गहन छलफल हुनुलाई महत्वपूर्ण मानिएको छ ।

संसद्मा १८२ सिटको बलियो बहुमत हुँदाहुँदै पनि सरकारले अधिवेशन नबोलाई अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै कांग्रेस सभापति गगन थापा र नेकपा नेता वर्षमान पुनलगायतले सरकारको कडा विरोध गरिरहेका छन् । चर्को महँगी, ग्यासको लाइन र मल अभावजस्ता जनजीविकाका सवालमा प्रतिपक्षले घेराबन्दी गरिरहेका बेला दुई शीर्ष नेताबीच आगामी संसद् अधिवेशन र अध्यादेशको विषयमा विशेष रणनीति बनेको बुझिएको छ ।

निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव पेस गरेसँगै रास्वपा चुनावी मोडमा होमिएको छ । स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने कि फरक मितिमा भन्नेमा अनिर्णीत रहेको रास्वपाले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण अभियान सुरु गर्दैछ । भेटमा यही प्रशिक्षण अभियान, पार्टी संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिबारे समेत दुई नेताबीच समझदारी जुटाउने प्रयास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *