रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९ सय १५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा विहिवार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ती बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६ सय २३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम विपद्मा बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।
यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण सङ्कलन गरिएको थियो । विदेशी नागरिकका हकमा भने सम्बन्धित मुलुकको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।
समितिको शुक्रबारको बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म मुलुकका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउन बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
यसका साथै बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना, २०८३/८४–२०९१/९२ समेत स्वीकृत गरेको छ । बैठकले वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ लाई पनि अनुमोदन गरेको प्राधिकरणले जनाएको छ ।


