ट्रम्पले किन थप २० प्रतिशत भन्सार शुल्क लगाए चीन र भारतमाथी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत र युरोपेली संघसहित १४ प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेसँगै विश्व वित्तीय बजारमा तीव्र दबाब देखिएको छ। यस घोषणाको प्रत्यक्ष असरस्वरूप अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेर एक वर्षभन्दा लामो अवधिको न्यून विन्दुमा झरेको अल जजिराले जनाएको छ।

अमेरिकी सेयर बजारमा पनि यसको प्रभाव देखिएको छ। प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्ड्याक सूचक कारोबारको सुरुवातमा ४ प्रतिशतभन्दा बढीले ओरालो लागे पनि अन्तिम समयमा सम्हालिँदै ०.६ प्रतिशतको गिरावटसहित बन्द भएको छ।

यसैगरी, एसएन्डपी ५ सय सूचक ०.२५ प्रतिशतले घटेको छ भने डाउ जोन्स औद्योगिक औसत सूचक ०.३ प्रतिशतले उकालो लागेको छ। यता, अमेरिकाको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल ०.०६८ प्रतिशत बिन्दुले घटेर ४.८३४ प्रतिशतमा झरेको छ भने जर्मनीको १० वर्षे ऋणपत्रको प्रतिफल ३.२ प्रतिशत कायम भएको छ।

चीनमाथि थप २० प्रतिशत शुल्क, भारत र युरोपेली संघ पनि दायरामा

औद्योगिक उत्पादन क्षमताको अधिक विस्तारमार्फत अनुचित व्यापारिक लाभ लिएको आरोप लगाउँदै अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले आठ महिना लामो अनुसन्धानपछि नयाँ शुल्क प्रस्ताव गरेको हो। गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले लगाएको व्यापक विश्वव्यापी भन्सार शुल्क खारेज गरेपछि व्यापार ऐन, १९७४ को दफा ३०१ अन्तर्गत यो अनुसन्धान थालिएको थियो।

प्रस्तावित शुल्कअनुसार चीनमाथि सबैभन्दा बढी २० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। ट्रम्पको पहिलो कार्यकालमा लगाइएको करिब २५ प्रतिशत शुल्कमा यो नयाँ दर थपिनेछ। यद्यपि, द्विपक्षीय व्यापार संयन्त्रमार्फत भन्सार शुल्क घटाउने विचाराधीन सूचीमा रहेका करिब ३० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ वस्तुमा भने यो शुल्क लागू हुने छैन।

चीन र युरोपेली संघसँगै भारत, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, बंगलादेश, कम्बोडिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम नयाँ शुल्कको दायरामा परेका छन्। मेक्सिको र नर्वेमाथिको अनुसन्धान जारी रहेकाले तत्काल शुल्क प्रस्ताव गरिएको छैन।

यस्तै, अमेरिकाले छुट्टै घोषणामार्फत ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयरद्वारा उत्पादित तयारी विमानमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। निर्धारित कोटाभन्दा बढी आयात हुने ब्राजिलको चिनीमा समेत शुल्क बढाउने अमेरिकी योजना छ।

प्रभावित मुलुकको असन्तुष्टि र मुद्रास्फीति बढ्ने चिन्ता

अमेरिकाको पछिल्लो निर्णयप्रति प्रभावित मुलुकहरूले कडा असन्तुष्टि जनाएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अधिक उत्पादन क्षमतासम्बन्धी अमेरिकी आरोप अस्वीकार गरेका छन् भने युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले युरोप स्वयं अधिक उत्पादन क्षमताको समस्याबाट प्रभावित रहेको भन्दै अमेरिकी अनुसन्धानको आधारप्रति असहमति जनाएका छन्।

स्विट्जरल्यान्डले पनि अमेरिकी आरोप अस्वीकार गरेको छ। अर्कोतर्फ, नर्वेले भने तत्काल नयाँ शुल्क नलगाउने अमेरिकी निर्णयको स्वागत गरेको छ।

मुद्रास्फीति र ब्याजदर वृद्धिको सम्भावनाले सुनको मूल्यमा थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ। नयाँ भन्सार शुल्कले सन् २०२७ मा मुद्रास्फीति र विश्व अर्थतन्त्रको अस्थिरता बढाउन सक्ने अर्थशास्त्रीहरूको आकलन छ। चीनबाहेक अन्य व्यापार साझेदारमाथि प्रस्तावित शुल्कदर तथा कार्यान्वयन मितिबारे भने विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *