चाडपर्व नजिकिएसँगै बजारमा नगदको माग उच्च बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप मुद्रा प्रवाहित भएको छ।

गएको भदौसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो। बुधबारसम्म आइपुग्दा यो रकम बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। चाडबाड सुरु हुँदै गर्दा नगदको माग अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि चाडपर्वका बेला नगदमै कारोबार गर्ने शैली उच्च रहेको देखिन्छ।

दसैँलाई लक्षित गरी सर्वसाधारणले राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकहरूमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट साटेका छन्।

यसमध्ये करिब ३ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरूमार्फत साटिएको छ। बाँकी १० अर्ब रुपैयाँ बराबरका नोट भने वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई सटही सुविधा दिन राष्ट्र बैंकबाट लगेका हुन्।

नेपाल राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका साना नोटहरू साट्ने व्यवस्था मिलाएको थियो।