काठमाडौं । विगत १५ घण्टादेखि पाकिस्तानमा भएको बहुप्रतिक्षित अमेरिका इरान वार्ता सहमतिमा पुग्न असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सहमति हुन नसकेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानको समन्वयमा इस्लामाबादमा युद्धरत दुई पक्षबीच वार्ता भएको थियो । भान्सले इरानले न्यूक्लियर हतियार अभियान रोक्नुपर्ने विषयमा सहमति हुन नसकेको बताएका छन् । उनी इस्लामाबादबाट हिडिसकेको बीबीसीले जनाएको छ । वार्ता रोकिएपछि उनले होटल सेरेनामै संक्षिप्त पत्रकार सम्मेलनमा भान्सले अहिलेसम्म कुनै समझदारी नभएको बताएका हुन्। ‘दुःखद पक्ष के छ भने हामी अहिलेसम्म सम्झौतामा पुग्न सकेका छैनौं,’ उनले भने। उनले थपे, ‘इरान हाम्रा सर्तमा सहमत भएन।’ उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका छन्। उनले इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको पनि बताएका छन्। ‘उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,’ उपराष्ट्रपति भान्सले भने। वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि भान्सले बताएका छन्। ‘तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,’ उनले भने। अमेरिकाले विशेषगरी इरानको आणविक कार्यक्रमलाई लिएर कडा अडान लिँदै आएको छ। भान्सको भनाइले पनि वासिङ्टनको मुख्य प्राथमिकता इरानलाई परमाणु हतियार विकासबाट रोक्नु रहेको संकेत गर्छ। उता इरानी विदेश मन्त्रालयले वार्ता प्रारम्भिक रुपमा भएको टिप्पणी गर्दै अमेरिकाले कानुन विपरित इरानको अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको टिप्पणी गरेको छ ।