एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
चितवनले हिजो भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
यता, सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यस सिजनको समूह चरणमा भने सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हराएको थियो । यो जितको मनोबल सुदूरपश्चिमसँग रहँदा चितवन भने त्यसको बदला लिँदै फाइनल पुग्ने योजनामा हुनेछ ।आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

