नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) बाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाललाई अनुमति दिएको हो।
प्राधिकरणले १ मङ्सिर २०८३ देखि १५ साउन २०८४ सम्म डे–अहेड तथा रियल टाइम बजारबाट विद्युत् आयात गर्न पाउनेछ। यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको पिक आवरबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत् ल्याउन सकिनेछ।अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १ सय ३२ केभी प्रसारण लाइनमार्फत ३ सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ। त्यस्तै, न्यू नौतनिया–मैनहिया १ सय ३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३ सय ५० मेगावाट विद्युत् भित्र्याइनेछ।
भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण ४ सय ३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय प्रणालीबाट विच्छेद भएकाले त्यसको व्यवस्थापन गर्न आवश्यक तयारी गरिएको श्रेष्ठले जानकारी दिए।
गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मान्दा यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा माग बढी हुने अनुमान छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४ सय ५० देखि ५ सय मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने देखिएको छ।
उच्च माग हुने पिक आवरमा भने दैनिक ८ सय देखि ९ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको आकलन गरिएको छ। पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने भए पनि आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढेपछि आन्तरिक उत्पादनमा वृद्धि भई पुनः विद्युत् निर्यात सुरु हुनेछ।
नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। प्राधिकरणले १ मङ्सिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त परिमाणको विद्युत् भारत निर्यात गर्न पाउनेछ।


