परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच जलवायु वित्त, पुनर्निर्माण र विश्व शान्ति स्थापनाका विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को अवसरमा टर्कीको अन्ताल्यामा उनीहरूबिच उच्चस्तरीय संवाद भएको हो ।

भेटमा दुवै पक्षबिच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि र जलवायु कार्यका विषयमा विचार आदानप्रदान भयो । साथै, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता र जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे । उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याएको योगदानको प्रशंसा समेत गरे ।

सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा गरेको योगदान महत्त्वपूर्ण रहेको भन्दै सराहना गरे । भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका अन्य समसामयिक विषयमा समेत कुराकानी भएको थियो ।