काठमान्डु गोर्खाज एनपीएलकाे शीर्ष स्थानमा उक्लिदा अरु कहाँ?

काठमाडाैं । काठमान्डु गोर्खाज लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । काठमान्डुले सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमान्डुले लगातार खेल जित्दै आएको छ र यस जितले टोलीको प्लेअफमा स्थान लगभग पक्का गरेको छ । काठमान्डुको ५ खेलमा ८ अंक पुगेको छ । टोलीले लुम्बिनी लायन्सलाई १ अंकले पछाडि पारेको हो । चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो । रबि बोपाराले अर्धशतक बनाए पनि जबाफमा आएको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ७ विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो । अर्जुन साउद र कामिल मिसराले ५ ओभर भित्र ४८ रन जोडि चितवनलाई राम्रो सुरुआत दिलाएका थिए । सन्तोष यादवले अर्जुनलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । अर्जुनले २१ बल खेली ४ चौकासहित २३ रन बनाए । श्रीलंकाली खेलाडी मिसराले ११ बल खेली १ चौका र ३ छक्कासहित २८ रन बनाए । अर्का श्रीलंकन खेलाडी सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमले सानदार रनिङ क्याच लिएर मिसरालाई पेभेलियन फर्काएका थिए । डान मुस्ली र रबि बोपाराले तेस्रो विकेटमा ५५ रनको साझेदारी गरे । मुस्ली ३२ बलमा ३ चौकासहित २९ रन बनाएर आउट भए । ट्यालेन्ट हन्टबाट आएका गणेश गौतमले चितवनका कप्तान सिकन्दर राजालाई २ रनमा बोल्ड गरेका थिए । बोपारा ५५ रन बनाई अन्तिम ओभरमा आउट भए । उनले ३५ बल खेली २ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्ल १२ बल खेलि १ चौका प्रहार गरि १३ रनमा आउट भए । विवेक यादव ४ रनमा रनआउट भए । कमलसिंह ऐरी ५ र रिजन ढकाल १ रनमा अविजित रहे । काठमान्डुबाट अराचिगेले ४ ओभरमा ३७ रन खर्चेर २ तथा कप्तान करण केसी, जहाॅन्दद खान, सन्तोष यादव र गणेशले १–१ विकेट लिए । यसअघि ओपनरद्वय डेबिड वार्नर र साहिल पटेललाई ४ ओभर खेल्दा १३ रन भित्र गुमुाए पनि काठमान्डुले चुनौती पूर्ण स्कोर बनाएका हो । यी दुईले लुम्बिनी लायन्सविरुद्धको अघिल्लो खेलमा पहिलो विकेटमा १ सय ४ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियन ब्याटिङ हस्ती वार्नरलाई १ रनमा कमलले बोल्ड गरे । वार्नरले ६ बलको सामना गरेका थिए । साहिल १२ बलमा ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । तर रशिद खानले अर्धशतक बनाउदै काठमान्डुको उच्च फर्मलाई कायमै राखे । रशिदले ३० बलमा ५२ रन बनाए । जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो । रशिदले २ चौका र ४ छक्का प्रहार गरे । रशिदले तेस्रो विकेटमा विलियम बोसिस्टोसॅग ६२ र अराचिगेसॅग चौथो विकेटमा २८ मा ५३ रनको साझेदारी गरे । बोसिस्टोले २२ बल खेली १ छक्कासहित २७ रन बनाए । श्रीलंकन खेलाडी अराचिगेले २० बल खेली ३ चौका र २ छक्कासहित ३३ रन बनाए । करणले ८ बल खेली ३ छक्कासहित २० रन बनाए । इंग्लिस बलर मोस्लीलाई ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि चौथो बलमा मोस्लीले करणलाई एलबीडब्लु आउट गरेका थिए । आदिल आलम अन्सारी २ चौका प्रहार गरी ८ रनमा आउट भए । जहाँन्ददले १३ बलमा ६ रनमात्र बनाउन सके । सन्तोष यादव २ बल खेली १ छक्का प्रहार गर्दै ८ रनमा अविजित रहे । रिजन ढकालले ३ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा १४ रनमात्र खर्चे । सिकन्दरले ३ ओभरमा १९ र कमलले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए ।

