नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लिग चरणका दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सले एकअर्काको सामना गर्नेछन्।
अंक तालिकाको छैटौं स्थानमा रहेको विराटनगरले हालसम्म खेलेका पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। उता पुछारमा रहेको पोखराले पाँच खेलबाट मात्र एक जित निकाल्दा चार खेलमा पराजय भोगेको छ।
सोही मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको लुम्बिनीले पाँच खेलमध्ये तीनमा जित, एकमा हार र वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको थियो।
सातौं स्थानमा रहेको कर्णालीले भने पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको छ। दुवै खेलका टोलीहरू अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।


