निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी शिखर इन्स्योरेन्स स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००४ मा नेपालको १४ औँ निर्जीवन बीमा कम्पनीका रुपमा यात्रा सुरु गरेको शिखरले आफ्नो २१ वर्षे अवधिमा बीमितलाई ३० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गर्दै वित्तीय सुरक्षा र विश्वासको बलियो आधार तयार पारेको हो।
कम्पनीले स्थापनाकालदेखि हालसम्म २ लाखभन्दा बढी दाबी फर्स्योट गरिसकेको जनाएको छ। आर्थिक वर्ष २०८२।८३ मा मात्र शिखरले ४ अर्ब ६७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ, जसले गोरखा भूकम्पदेखि अन्य ठूला विपत्तिसम्म ग्राहकको कठिन समयमा साथ दिने प्रतिबद्धता पुष्टि गरेको छ।
पुँजी र व्यवसाय विस्तारमा अग्रता
१० करोड रुपैयाँ चुक्तापुँजीबाट सुरु भएको कम्पनीले हाल आफ्नो पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ, जुन निर्जीवन बीमा कम्पनीहरूमध्येकै सर्वाधिक हो। यस्तै, १३ करोड रुपैयाँको प्रारम्भिक बीमाशुल्क संकलनलाई विस्तार गर्दै आर्थिक वर्ष २०८२।८३ मा ६ अर्ब ५१ करोड रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ।
वार्षिक बीमाशुल्क संकलन १ अर्बबाट ६ अर्ब रुपैयाँको कोसेढुंगा पार गर्ने यो नेपालको पहिलो निर्जीवन बीमा कम्पनी हो। कुल बजार हिस्साको १३ प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै शिखर विगत एक दशकभन्दा लामो समयदेखि उद्योगको शीर्ष स्थानमा रहँदै आएको छ।
बलियो पुनर्बीमा, उच्च रेटिङ र डिजिटल सेवा
वित्तीय सुरक्षालाई मजबुत बनाउन कम्पनीले ‘ए’ वा सोभन्दा माथिल्लो रेटिङ प्राप्त विदेशी सन्धि पुनर्बीमा कम्पनीहरूसँग सहकार्य गरेको छ भने उद्योगकै बलियो विपत्ति पुनर्बीमा कभर समेत सुरक्षित राखेको छ। विश्वसनीयता र उत्कृष्ट सञ्चालनका कारण इक्रा नेपालबाट ‘डबल ए माइनस’ जारीकर्ता मूल्यांकन प्राप्त गर्ने यो नेपाली बीमा क्षेत्रकै उच्च रेटिङ पाउने कम्पनी बनेको छ।
प्रविधिमैत्री सेवा विस्तारका लागि ‘डिजिटल शिखर’ मार्फत अनलाइन खरिद, नवीकरण, भुक्तानी र दाबी प्रक्रियालाई सहज बनाइएको छ भने ग्राहक सहयोगका लागि चौबीसै घण्टा कल सेन्टर सञ्चालनमा छ। सुरक्षा र उत्कृष्ट अभ्यासका कारण शिखर आईएसओ÷आईईसी २७००१ः२०२२ प्रमाणीकरण प्राप्त गर्ने नेपालको एकमात्र निर्जीवन बीमा कम्पनी समेत बनेको छ।


