पोखरालाई ८ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी शीर्ष स्थानमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर ५० बल बाँकी छँदै सहजै पूरा गर्‍यो।

यो जितसँगै लुम्बिनी ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस सिजन लुम्बिनी मात्र एक अपराजित टोली हो। अर्कातर्फ, पोखराको भने यो लगातार तेस्रो हार हो। अहिलेसम्म कुनै पनि खेल जित्न नसकेको पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट कप्तानी पारी खेले। उनले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४७ रन बनाए भने विकेटकिपर निरोशन डिकवेलाले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २७ रनको योगदान दिए। रोहित र डिकवेलाले तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरे। त्यसअघि ओपनर डार्शी सर्ट १३ र आसिफ शेख ९ रनमा आउट भएका थिए। पोखराका विपिन खत्रीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९७ रन बनाउन सकेको थियो। पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २५ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे भने अर्जुन कुमाल शून्य, सदारा समिराविक्रमा ७, शकिब अल हशन ३, अर्जुन घर्ती ६ र विपिन आचार्य १ रनमा आउट भए।

पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने विवेक भण्डारीले २ विकेट हात पारे। कप्तान रोहित पौडेल, शेर मल्ल र अभिषेक गौतमले १-१ विकेट बाँडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *