काठमाडाैंकाे पहिलाे जित, कर्णालीकाे पहिलाे हार

काठमाडौँ । रशिद खान र कप्तान करण केसीको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ । काठमान्डुले सोमबार कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । प्रमुख रूपमा बलर भए पनि रशिद र करण ब्याटिङमा चम्किएपछि काठमान्डुले १ सय ८१ रनको लक्ष्य त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा २ बल अगाडि पूरा गर्यो । काठमान्डुले दोस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । कर्णालीमाथि भने काठमान्डुले लगातार तेस्रो सिजन विजय हात पारेको हो । पहिलो दुई खेल जितेको कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार बेहोरेको हो । काठमान्डुबाट रशिद खानले अर्धशतक पूरा गरे । उनले ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ५० रन बनाए । उनले आदिल आलम अन्सारीसँग तेस्रो विकेटमा ५४ र कप्तान करण केसीसँग पाँचौँ विकेटमा २६ बलमा ५५ रनको साझेदारी गरे । करणले २० बलमा ४४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । १३औँ ओभरमा ब्याटिङमा आएका करण १८औँ ओभरमा कर्णालीका कप्तान सोमपाल कामीको बलमा आउट भए । जहान्दाद खान १० बलमा अविजित २२ रन बनाई काठमान्डुलाई जित दिलाए । काठमान्डुलाई अन्तिम २ ओभरमा जितका लागि २१ रन चाहिएको समयमा उनले १९औँ ओभरको पहिलो दुई बलमा पवन सर्राफलाई लगातार छक्का प्रहार गरेका थिए । सोही ओभरमा सन्तोष यादवले पनि चौका प्रहार गरेका थिए । काठमान्डुले अन्तिम ओभरमा आवश्यक ४ रन बटुलेको थियो । सन्तोष ३ बल खेली ५ रनमा अविजित रहे । कर्णालीबाट सोमपाल र हुसैन तलातले २–२ तथा मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । बंगलादेशी ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । अर्का बंगलादेशी ओपनर जिसन आलम ७ रन बनाई आउट भए । मार्क वाटले २० बल खेली २ चौकासहित १७ र दीपक डुम्रेले ८ रन बनाए । पाकिस्तानी खेलाडी हुसैन तलात ४० रन बनाई हिट विकेट भए । काठमान्डुबाट खेलिरहेका अर्का पाकिस्तानी खेलाडी जहान्दाद खानले तलातलाई हिट विकेट गराए । तलातले ३० बल खेली १ चौका र २ छक्का प्रहार गरे । गुलशन झा १२ बल खेली २ छक्का प्रहार गर्दै २० रनमा आउट भए । पवन सर्राफ २४ बल खेली २ छक्का प्रहार गर्दै ३० र सोमपाल कामी १ रनमा अविजित रहे । काठमान्डुबाट करणले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै जहान्दाद, शाह आलम, सन्तोष र देव शाहले १–१ विकेट लिए ।

