काठमाडौँ । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका छन् । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित मिस्री यही १८ र १९ कात्तिकमा काठमाडौं आउने भएका हुन् । उनले आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । दुईदिने भ्रमणका क्रममा दुवै देशका विदेश सचिवले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । भारतीय विदेश मन्त्रालयले मिस्रीले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी साझा चासोका विषयमा छलफल गर्न नेपालको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ । मिस्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी १९ कात्तिकमा दिल्ली फर्कनेछन् ।  भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ । काठमाडौं र नयाँदिल्ली प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीमा जुटिरहेका बेला मिस्रीको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री शाह मंसिर दोस्रो साताको उत्तरार्द्धमा भारत जाने अपेक्षा गरिएको छ । भ्रमणको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन । यद्यपि, भ्रमणको तयारी र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न दुवै देशले कूटनीतिक संवाद तीव्र बनाएका छन् । मिस्रीको भ्रमणमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, प्राथमिकता र सम्भावित उपलब्धिबारे छलफल हुने अपेक्षा गरिएको छ । यसका साथै द्विपक्षीय सम्बन्धको समग्र समीक्षा र प्रधानमन्त्रीस्तरीय वार्तामा उठ्न सक्ने विषयमा पनि छलफल हुने बताइएको छ । ‘भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध छ । सहकार्यका विविध क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विदेश सचिवको आसन्न भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ,’ भारतीय विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ । गत वर्ष १३ चैतमा पदभार सम्हालेका प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । नयाँ सरकार गठन भएलगत्तै भारतले उनलाई भ्रमणको निमन्त्रणा दिएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले आपसी हितका क्षेत्रमा सहकार्य अघि बढाउने र भ्रमणलाई उपलब्धिमूलक बनाउने उद्देश्यले दुवै देशले काम गरिरहेको बताएका छन् । नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, सुरक्षा तथा जनस्तरको सम्बन्धलगायत बहुआयामिक सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । आर्थिक वर्ष २०२५/२६ मा दुई देशबीचको वस्तु व्यापार करिब ९ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको थियो ।