विराटनगर र जनकपुरबिच प्रतिष्ठाको लडाइँ
आज दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्। प्रतियोगितामा अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार व्यहोरेको छ। सुरुआती खेलहरूमा केही दबाबमा रहे पनि सुदूरपश्चिमविरुद्ध शानदार जित निकालेको विराटनगर आफ्नो लयलाई निरन्तरता दिने दाउमा छ।
यता, जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा दुईमा जित र एकमा हार हासिल गरेको छ। दुवै टिमका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति थप सुदृढ बनाउन र प्रतिष्ठा कायम राख्न अहम् मानिएको छ।
लुम्बिनीलाई पोखराको चुनौती
त्यस्तै, आजै साँझ साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनी लायन्सको दोस्रो खेल भने वर्षाका कारण रद्द हुँदा चितवनसँग अंक बाँडेको थियो। बलियो स्थितिमा रहेको लुम्बिनीविरुद्ध पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स मैदानमा उत्रनेछ।
पोखराले यसअघि खेलेका आफ्ना दुवै खेलमा हार व्यहोरेकी कारण प्रतियोगितामा टिकी रहन र पहिलो अङ्कको खाता खोल्न यो खेलमा उत्कृष्ट प्रदर्शन गर्नैपर्ने दबाब छ।


