देशभर मनसुनको प्रभाव: केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई भू-भागका थोरै स्थानहरूमा पनि मध्यम किसिमको वर्षा हुन सक्नेछ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको क्रम जारी रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, तराईका केही क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

