ओपन कसमसद्वारा दुई स्याटेलाइट प्रक्षेपण पृथ्वीको वास्तविक समयमै निगरानी गर्न सक्ने

बेलायती स्याटेलाइट कम्पनी ओपन कसमसले विपद् व्यवस्थापनका लागि पृथ्वीको लगभग वास्तविक समयमै निगरानी गर्न सक्ने ओपनकन्स्टेलेसन १.० परियोजनाका पहिलो दुई स्याटेलाइट प्रक्षेपण गरेको छ।
कम्पनीका अनुसार यो प्रणालीले सरकार र विभिन्न संस्थालाई जलवायुजन्य विपद् तथा सुरक्षा जोखिमजस्ता घटनामा छिटो प्रतिक्रिया दिन सहयोग गर्नेछ। सामान्यतया ४८ घण्टामा उपलब्ध हुने विश्लेषणात्मक जानकारी यसका स्याटेलाइटमार्फत करिब ३० मिनेटमै उपलब्ध गराउन सकिने दाबी गरिएको छ।
कम्पनीले विश्व अहिले बढ्दो भूराजनीतिक विभाजन र जलवायुजन्य जोखिमको सामना गरिरहेको अवस्थामा घटनालाई तत्काल देख्न, बुझ्न र त्यसअनुसार काम गर्न सक्ने क्षमता पहिलेभन्दा बढी महत्वपूर्ण भएको जनाएको छ।
टेलिकम्स डटकमका अनुसार स्पेसएक्सले पोसिडोनिया र हाइपेरियन जीआर–१ नामका यी दुई स्याटेलाइट प्रक्षेपण गरेको हो। ग्रीस र स्पेनस्थित ओपन कोसमोसका टोलीले महिनौंको कामपछि यी स्याटेलाइटले कक्षामा सफल परीक्षण पूरा गरेको कम्पनीले जनाएको छ। यस प्रक्षेपणले ग्रीस र स्पेनलाई नयाँ पुस्ताका स्याटेलाइट उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने कम्पनीको दावी छ।
ओपन कोसमोसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राफेल जोर्डा सिकिएरले ओपनकन्स्टेलेसन १.० का पहिलो दुई स्याटेलाइट कक्षामा पुग्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसले पृथ्वी अवलोकनसम्बन्धी तथ्यांक लगभग वास्तविक समयमै उपलब्ध गराउने लक्ष्यतर्फ ठूलो कदम भएको उल्लेख गरे।
उनका अनुसार पूर्वाधारको निगरानी, प्राकृतिक विपद्को प्रतिक्रिया वा जमिनमा भइरहेको गतिविधि बुझ्नुपर्ने अवस्थाहरूमा सरकार तथा ठूला संस्थालाई छिटो र भरपर्दो जानकारी उपलब्ध गराउनु नै यो स्याटेलाइट समूहको मुख्य उद्देश्य हो।
प्राविधिक रूपमा ओपनकन्स्टेलेसन १.० मा हाइपरस्पेक्ट्रल र उच्च रिजोल्युसन मल्टिस्पेक्ट्रल इमेजिङ प्रविधिको संयोजन गरिएको छ। कम्पनीका अनुसार मल्टिस्पेक्ट्रल प्रणालीले ठूलो क्षेत्रको उच्च गुणस्तरमा निगरानी गर्न सक्छ भने हाइपरस्पेक्ट्रल प्रणालीले नजिकबाट विभिन्न पदार्थ पहिचान गरी वातावरणीय विश्लेषण गर्न सहयोग गर्छ।
यी स्याटेलाइटमा अनबोर्ड एआई प्रोसेसिङ, आईओटी पेलोड र अन्तर–स्याटेलाइट सञ्चार प्रणाली पनि समावेश गरिएको छ। यसमार्फत तथ्यांक पृथ्वीमा आइपुग्नुअघि नै प्रशोधन, आदानप्रदान र विश्लेषण गर्न सकिने कम्पनीले जनाएको छ।
पूरा स्याटेलाइट समूह तयार भएपछि यसले दैनिक ३० लाख वर्ग किलोमिटर क्षेत्रको पृथ्वी अवलोकन तथ्यांक संकलन गर्न सक्ने र एउटै क्षेत्रलाई दिनमा धेरै पटक पुनः अवलोकन गर्न सक्ने क्षमता हुने बताइएको छ। बाँकी स्याटेलाइट यसै वर्ष प्रक्षेपण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
यस वर्षको सुरुवातमा लिचटेन्स्टाइनले ओपन कोसमोसलाई उच्च प्राथमिकतासहितको का-ब्यान्ड रेडियो स्पेक्ट्रम दर्ता उपलब्ध गराएको थियो। कम्पनीले त्यसबेला एक दशकभन्दा बढी समयदेखि दूरसञ्चार, पृथ्वी अवलोकन तथा वैज्ञानिक स्याटेलाइट प्रक्षेपणमा शतप्रतिशत सफलता हासिल गरेको र नयाँ स्पेक्ट्रममार्फत स्याटेलाइट कनेक्टिभिटी तथा सञ्चार सेवामा विस्तार गर्ने योजना रहेको जनाएको थियो।
यसै वर्षको सुरुवातमा कम्पनीले न्युजिल्यान्डबाट रकेट ल्याबमार्फत दुईवटा पृथ्वीको तल्तो कक्षा (एलईओ) स्याटेलाइट पनि प्रक्षेपण गरेको थियो।
मार्चमा कम्पनीले आफ्नो स्याटेलाइट सेवाको उद्देश्य अन्तरिक्षमा आधारित तथ्यांक सेवाहरूबीचको विभाजन हटाउने, तथ्यांक वितरणको समय उल्लेखनीय रूपमा घटाउने र विश्वभर, दुर्गम क्षेत्रसमेत, वातावरणीय परिवर्तनको निगरानी तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने रहेको जनाएको थियो।

