औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार आठ महत्वपूर्ण विषयमा द्विपक्षीय समझदारी भएको छ।

भ्रमणको दोस्रो दिन नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान भएको हो।

यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषयहरू:

१. फरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य हुनेछ।

२. प्रहरी प्रशिक्षण: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि समझदारी भएको छ।

३. प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मिलेर नेपाली सरकारी अधिकारीहरूलाई विशेष प्रशिक्षण दिनेछन्।

४. आयुर्वेद र परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद तथा उपचारका अन्य परम्परागत चिकित्सा पद्धतिहरूको प्रवर्द्धन र अनुसन्धानमा सहकार्य गर्नेछन्।

५. स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।

६. सहरी विकास: दुवै देशले दिगो र आधुनिक सहरी विकासको क्षेत्रमा प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नेछन्।

७. स्वास्थ्य र चिकित्सा: नेपाल र भारतले स्वास्थ्य सेवा विस्तार र चिकित्सा विज्ञानको क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेका छन्।

८. पशुपालन र मत्स्यपालन: दुवै देशले कृषिअन्तर्गत पशुपालन र मत्स्यपालनको आधुनिकीकरण तथा विकासका लागि सहकार्य गर्नेछन्।

सहमतिपत्रमा हस्ताक्षरपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यी समझदारीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । सोही क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो समेत दिएका छन्।