वरिष्ठहरु पन्छाएर ३५ औँ वरियताका कार्की कसरी बने मुख्यसचिव ?

काठमाडाैं । नेपाल सरकारका सचिव गोविन्दबहादुर कार्की मुख्यसचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई मुख्यसचिव पदमा नियुक्ति गरिएको बताए । बहालवाला मुख्यसचिव सुमनराज अर्याल शुक्रबार (२६ असार)देखि उमेरहदका कारण अवकाश हुँदै छन् । रिक्त हुन लागेको उक्त पदमा सरकारले कार्कीलाई बढुवा गरेको हो । मुख्यसचिव नियुक्तिको निर्णय भएपछि छोटो प्रतिक्रिया दिँदै कार्कीले सरकारको सुशासन र विकासको अभियानमा सारथीको भूमिका निर्वाह गर्ने बताए । सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त बनाउन तथा विकास व्यवस्थापनमा सहजीकरण गर्नदेखि भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहको सरलीकरणलगायतका विषय आफ्नो प्राथमिकतामा रहने पनि उनले बताए । ‘मुख्यसचिवका रूपमा सरकारको प्राथमिकतामा सहजीकरण र सहयोग गर्नेछु,’ उनले भने । विद्यमान निजामती सेवा ऐनमा मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था भए पनि कार्की पूरा कार्यकाल रहन पाउने छैनन् । ५८ वर्षमा अनिवार्य अवकाश हुने हालको व्यवस्थाअनुसार उनी २५ पुस ०८५ मा अवकाश हुनेछन् । अर्थात् उनी दुई वर्ष सात महिना मुख्यसचिवमा रहनेछन् । कार्की हाल प्रधानमन्त्री कार्यालयमै कार्यरत छन् । जेन–जी आन्दोलनपछि सरकार गठन हुनुअघि नै विगत १३ महिनादेखि प्रधानमन्त्री कार्यालयको शासकीय मामिला क्षेत्र हेर्ने सचिव छन् । सुशीला कार्कीदेखि बालेन नेतृत्वको सरकारमा उनी सहयोगी र महŒवपूर्ण भूमिकामा छन् । कार्की सरकारमा छँदा उनको नेतृत्वमा सुशासनको मार्गचित्र तयार गरिएको थियो । कार्की निजामती सेवामा खरिदारबाट प्रवेश गरेका हुन् । निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमा उनी मुख्यसचिव नियुक्त भएका छन् । कार्कीकै अनुसार ०४६ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका उनी ०५३ मा शाखा अधिकृत, ०६२ मा उपसचिव र ०७० मा सहसचिव बनेका थिए । २० भदौ ०८१ मा विशिष्ट श्रेणीको सचिव पदमा बढुवा भएका थिए । सचिवमा बढुवा भएपछि कार्की बागमती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका थिए । उनी साढे १३ महिनाअघि प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आएका हुन् । ०२७ मा भोजपुरमा जन्मिएका उनी साढे ५५ वर्षका भए । शैक्षिक योग्यताका हिसाबले मुख्यसचिव कार्कीले तीन विषयमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) र पब्लिक एडमिनिस्ट्रेसन (एमपिए) हुन् । त्यस्तै, सन् २००३ मा जापानबाट ‘इन्टरनेसनल डेभलमपेन्ट स्टडिज’मा पनि स्नातकोत्तर गरेका छन् । मुख्यसचिव नियुक्तिमा वरीयताक्रमसमेत हेरिँदै आएको छ । यद्यपि, वरीयताक्रम अनिवार्य भने छैन । बहाल रहेका सचिवहरूको वरीयताक्रममा कार्की ३५औँ नम्बरमा देखिन्छन् । मुख्यसचिवमा दाबेदार देखिएका वरीयताक्रमका अघिल्ला सचिवहरूलाई पन्छाएर सरकारले कार्कीलाई नै मुख्यसचिवमा बढुवा गरेको हो । प्रचलित निजामती सेवा ऐनको दफा १९ को २ (क) मा मुख्यसचिव बढुवासम्बन्धी व्यवस्था छ । भनिएको छ, ‘राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ ।’ यसमा कार्कीलाई मुख्यसचिव नियुक्त गर्दा सरकारले कार्यकुशलता हेरेको देखिन्छ ।

