हेटौंडा । नयाँ सरकार गठनकाे विषयले पूर्वपञ्चहरुकाे पार्टी राप्रपामा लफडा मच्चिएकाे छ । केन्द्रको कारबाहीमा परेका राप्रपा बागमती प्रदेशका सांसद उद्धव थापाले आफूलाई संसदीय दलको नेताकै हैसियतमा उभ्याउँदै प्रमुख सचेतक परिवर्तन गरेका छन् ।  प्रमुख सचेतक परिवर्तन गरेर उनले मुख्यमन्त्री किरण थापामगरको पक्षमा विश्वासको मत दिन ह्विप जारी गराएका छन्। उनले कुमारी तामाङलाई प्रमुख सचेतकबाट हटाएर डम्बर तामाङलाई प्रमुख सचेतक बनाएका हुन् ।  थापाले नै ह्विप जारी गरेर मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन आह्वान गरेका छन् । केन्द्रका अध्यक्ष राजेन्द्र लिङदेनकाे पक्षमा रहेकी तामाङले भने यसअघि विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी थिइन । तर थापाले ह्विप जारी गर्ने तामाङलाई नै हटाइदिएका हुन् ।