प्रभु बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको ठहर गर्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ७ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ। रूपन्देहीमा पाँचतारे रिसोर्ट निर्माणका लागि स्वीकृत ऋण व्यक्तिगत स्वार्थ र पारिवारिक व्यवसायमा प्रयोग गरिएको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गराएको हो।

कर्जा घोटालाका मुख्य योजनाकार ‘एसियन भिलेज रिसोर्ट प्रालि’ का सञ्चालक शशिर शर्मा रहेका छन्। शर्माले रूपन्देहीको मायादेवी गाउँपालिकामा १५१ बेडको रिसोर्ट बनाउन जग्गा किन्ने बहानामा ४८ करोड रुपैयाँ आवधिक कर्जा स्वीकृत गराएका थिए।

स्वीकृत ऋण रकम जग्गाधनीको खातामा जानुको साटो शर्माकी श्रीमती कमला अधिकारी, छोरा जुलुश शर्मा, बुहारी अनुष्का पराजुली र शर्माका अन्य घाटामा रहेका कम्पनीको पुराना ऋण चुक्ता गर्न प्रयोग गरिएको छ। दुई चरणमा निकासा भएको ३१ करोड र १७ करोड रुपैयाँ शर्माका परिवारका सदस्यको निजी खातामा ‘जग्गा खरिदको पेस्की’ भन्दै जम्मा गरिएको अनुसन्धानले देखाएको छ।

उक्त रकमबाट बुटवल हाउजिङ, लुम्बिनी एग्रो प्रडक्ट, अरुण फुड्स, युरो स्टार ग्रुप, लुम्बिनी मोटस र सामुदायिक विकास बचत तथा ऋण सहकारी संस्थाको पुरानो ऋण भुक्तानी गरिएको छ। साथै, सोही पैसाबाट काठमाडौँको सोल्टीमोडमा घरजग्गा खरिद, नेसनल लाइफ इन्स्योरेन्समा बीमा किस्ता र एनआईसी एसिया बैंकको संस्थापक सेयरसमेत खरिद गरिएको पाइएको छ।

वित्तीय अपराधमा बैंकको माथिल्लो व्यवस्थापनको प्रत्यक्ष मिलेमतो रहेको अभियोगपत्रमा उल्लेख छ। बैंककी रिस्क एनालिस्ट एन्जल शर्माले कर्जा असुरक्षित रहेको र धितो नपुग्ने भनी चेतावनी दिए पनि तत्कालीन सीईओ शेरचनले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरे।

शेरचनले बैंकको आधिकारिक ‘क्रेडिट म्यानेजमेन्ट सिस्टम’ बाईपास गरी व्यक्तिगत इमेलमार्फत धितो पूर्ण रूपमा रोक्का हुनुअघि नै रकम निकासा गर्न दबाब दिएका थिए। तत्कालीन चिफ बिजनेस अफिसर रश्मी पन्तले पनि जोखिम विश्लेषण नगरी फाइल अगाडि बढाएर गैरकानूनी कार्यमा साथ दिएकी थिइन्।

केन्द्रीय कार्यालयका रिकभरी म्यानेजर नन्दराज जोशीले बैंकको प्रणाली छलेर ह्वाट्सएपमार्फत रकम निकासा गर्न दबाब दिएका थिए। मणिग्राम शाखाका प्रबन्धक सन्तोष ज्ञवाली र ऋण अधिकृत राजेन्द्र श्रेष्ठले धितोको सुरक्षा र जग्गाको वास्तविक अवस्थाबारे झुटो विवरण पेस गरेका थिए।

बैंकले जम्मा ४ करोड ६१ लाख मूल्य बराबरको जग्गा धितो राखेर ४८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो। बाँकी १० बिघा जग्गा बैंकका नाममा दृष्टिबन्धक नै नगरी ऋण निकासा गरेर आन्तरिक सुशासनको धज्जी उडाइएको छ।

सरकारी वकिलको कार्यालयले अभियुक्तहरूविरुद्ध दुरुपयोग भएको ४८ करोड रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसुर तथा सजाय ऐन अनुसार ६ देखि ८ वर्षसम्मको जेल सजाय र जरिवाना माग गरेको छ। फरार रहेका पूर्वसीईओ शेरचनका नाममा पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुरोध गरिएको छ।

एसियन भिलेज रिसोर्टका सञ्चालक शशिर शर्मा र शिशिर पौड्यालबाट ४८ करोड रुपैयाँ नै असुल गर्न माग गरिएको छ। शर्माको लुम्बिनी एग्रो प्रोडक्टका नाममा ३५ करोड र अरुण फुड्सका नाममा २० करोड रुपैयाँ पुरानो ऋण रहेकाले सोही ऋणको ब्याज तिर्न फर्जी कम्पनी खडा गरी घोटाला गरिएको खुलेको छ।