काठमाडौँ उपत्यकामा आज (आइतबार) हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा विशेषगरी अपराह्न/साँझपख पानी पर्ने सम्भावना छ।

‘दिउँसो २/३ पछि बादल बढ्दै जाने र विशेषगरी साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भनिन्।

त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादलको अवस्थामा रहने देखिएको उनको भनाइ छ।

मौसमविद् महर्जनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत देखिएको छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

यी जिल्लामा बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित २७ जिल्ला र यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम हुने सम्भावना छ।

बाढी महाशाखाले आज बिहान बुलेटिन जारी गरी भनेको छ, ‘आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’