आधाले घट्याे एमालेकाे सदस्यता नवीकरण

काठमाडौँ । एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन् । देशव्यापी अभियानमा साउनसम्म ३ लाख ५९ हजार जना अर्थात् करिब ५३ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका हुन्, जब कि गत वर्षसम्म एमालेमा ६ लाख ८६ हजार ७ सय ४८ सदस्य थिए । गत वर्ष भदौको जेन–जी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवा सदस्यका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाइ छ । जेन–जी आन्दोलनपछि गत फागुनको चुनावमा नै एमाले मात्र नभई सबै वामपन्थी दलले कमजोर जनमत पाएका थिए । एमाले २५ सिट र नेकपा १७ मात्र सिट जितेर संसद्मा प्रतिनिधित्व गर्ने वामपन्थी दल बनेका थिए । वामपन्थी दलहरूको जनमत खस्किनुमा वैचारिक आधार, वर्गीय सरोकार र जनतासँगको सम्बन्ध बिर्सेर सत्ता, अवसर, आन्तरिक गुटबन्दी र सुविधाभोगी राजनीतिमा केन्द्रित हुनु मुख्य कारण रहेको विश्लेषकहरूले औंल्याएका छन् । पार्टी नेतृत्वले लिने नीति र कार्यशैलीले सामान्य सदस्यको मनोविज्ञान निर्धारण गर्ने राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा र नहुँदा लिएको नीति सदस्यका लागि उत्साहजनक नभएको उनको भनाइ छ । पोखरेलका अनुसार एमाले नेतृत्व पटकपटक असफल साबित भइसकेको छ । ‘नेतृत्वले कार्यकर्ता र मतदाताको मन जितेको भए प्रधानमन्त्रीबाट पदच्युत भए पनि मतदाता, कार्यकताले जिताउनुपर्ने थियो,’ उनले भने, ‘नेतृत्व हेरेर कार्यकर्ताले आफ्नो भविष्यबारे आकलन गर्छन् ।’ विगतमा इमान्दार कार्यकर्ता पाखा लगाउने प्रवृत्ति हाबी भएपछि उनीहरूले सदस्यता नवीकरणमा चासो नै नदिएको पोखरेलको आकलन छ । ‘लामो समय पार्टीमा लाग्दाखेरि अपेक्षा पूरा भएन, टाठाबाठाले अवसर पाए’ उनले भने, ‘टाढाबाठा नेता कार्यकर्ताले पद प्रयोग गरेर आर्थिक अवस्था सुधारेको देखेपछि इमान्दार संगठित सदस्यहरू पार्टीप्रति निराश भएको देखिन्छ । अब सदस्य भएर के हुन्छ ? भन्ने भएपछि नवीकरण गर्न रुचि देखाएनन् । एमालेको मैमत्त प्रवृत्ति केन्द्रमा मौलायो, त्यो तलसम्म पुग्यो । विवेकलाई बन्धक राख्न नचाहने कार्यकर्ताहरू निराश हुँदै गए ।’ एमाले महासचिव शंकर पोखरेल पुराना सदस्य र नयाँले पार्टीमा भविष्य देख्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउँछन् । ‘युवाले पार्टीमा आफ्नो भविष्य देख्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ’ उनले गत साता कान्तिपुरसँग भनेका थिए, ‘पार्टी पुनर्गठन गरेर मात्र त्यो सम्भव छ ।’ पार्टी पुनर्गठन गर्नेबारे उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन भएको कार्यदलका सचिवसमेत रहेका महासचिव पोखरेलले तीन पुस्तालाई संयोजन गर्ने योजना बनाउनुपर्ने प्रतिवेदन तयार गरेका छन् । यद्यपि, यो प्रतिवेदन अहिलेलाई थाती राख्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय गरेका छन् । प्रदेशअनुसार सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा एमाले सदस्यता नवीकरण भएको छ । सुदूरमा विगतमा ६३ हजार १ सय १० सदस्य भएकामा यसपालि करिब १७ हजार जनाले मात्र नवीकरण गरेको प्रदेश कमिटीले जानकारी दिएको छ । यो संख्या विगतको तुलनामा २६.९४ प्रतिशत मात्र हो । प्रदेश कमिटी सचिव रणबहादुर चन्दले विवरण अद्यावधिक भइरहेकाले २१ हजारसम्म पुग्ने बताए । ‘५० प्रतिशतभन्दा बढी सदस्यले नवीकरण गरिसक्ने लक्ष्य छ,’ उनले भने, ‘केही सदस्यले अनलाइन नगरी कागजमा नवीकरण गरेकाले कम्प्युटरमा इन्ट्री गर्न बाँकी छ ।’कान्तिपुरबाट

