विराटनगर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक टिप्पणीले तराईका ग्रामीण समुदाय आक्रोशित बनेका छन् । आफू प्रतिनिधित्व गर्दै आएको झापा–५ क्षेत्रलाई “एड्भान्स र सफा” देखाउन खोज्दै महोत्तरी–धनुषा जस्ता स्थानलाई ‘गुइँठा बाल्ने अवस्था’ सँग तुलना गरेपछि ओलीको अभिव्यक्ति सांस्कृतिक अपमानका रूपमा व्याख्या हुन थालेको हो ।

केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा ओलीले दमकलाई व्यवस्थित र सफा नगरको रूपमा चित्रण गर्दै आफ्नो राजनीतिक प्रतिस्पर्धीप्रति कटाक्ष गरेका थिए । सोही क्रममा प्रयोग गरिएको ‘गुइँठा बाल्ने कल्चर’ भन्ने शब्दले पूर्वी तराईका ताजपुरिया, राजवंशीलगायत आदिवासी समुदायलाई आहत बनाएको छ ।

ओलीको अभिव्यक्तिपछि झापा–मोरङ सीमाक्षेत्रका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकामा असन्तोष चर्किएको छ । स्थानीयहरूका अनुसार गुइँठा उनीहरूको जीवनशैली, संस्कार र धार्मिक परम्पराको हिस्सा हो, जसलाई हेप्ने शैलीमा गरिएको टिप्पणी स्वीकार्य छैन ।

आक्रोशको प्रतीकस्वरूप स्थानीय महिलाहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविना काफ्लेलाई गुइँठा उपहार दिएका छन् । “गुइँठा हाम्रो पहिचान हो । कसैले यसलाई हेप्यो भने हामी चुप लाग्दैनौँ,” गुइँठा दिँदै गर्दा एक स्थानीय महिलाले प्रतिक्रिया दिइन् ।

ओलीकै दल एमालेका समर्थकसमेत यस अभिव्यक्तिबाट असन्तुष्ट देखिएका छन् । गौरीगञ्जका एमाले समर्थक डिल्ली ढुंगानाका अनुसार नेताले नसोचेको विषयमा बोलेर समस्या निम्त्याएका हुन् । “यहाँ धेरै परिवार गुइँठा बाल्छन् । यस्तो विषयमा तुलना गर्नु नै गलत थियो,” उनले भने ।

गौरादह–८ का कालिप्रसाद ताजपुरियाले गुइँठालाई इन्धन मात्र नभई धार्मिक संस्कारसँग जोडिएको बताए । “कार्तिकदेखि वैशाखसम्म गुइँठा बनाइन्छ । बिहे, श्राद्ध, सत्यनारायण पूजा, मरे–मराउ सबैमा यसको प्रयोग हुन्छ,” उनले भने, “हाम्रो संस्कृतिलाई होच्याउने शैली मन परेको छैन ।”

गौरादह र गौरीगञ्जका अधिकांश वडामा अहिले पनि गोबर, पराल र भुस मिसाएर बनाइएको गुइँठा सुकाइरहेको दृश्य सामान्य छ । पुस्तौँदेखि चल्दै आएको यो अभ्यास ग्रामीण जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ ।

यद्यपि स्वास्थ्य विज्ञहरूले गुइँठा बाल्दा निस्कने धुवाँले श्वासप्रश्वाससम्बन्धी रोग, क्षयरोग र आँखासम्बन्धी समस्या बढाउने चेतावनी दिँदै आएका छन् । तर ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा पहुँच नहुँदा र धार्मिक–सांस्कृतिक कारणले यसको प्रयोग रोकिएको छैन ।

ओलीको अभिव्यक्तिले चुनावी राजनीति मात्र होइन, नेताहरूको भाषाशैली, वर्गीय दृष्टिकोण र सांस्कृतिक संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।