काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले पछिल्लो चुनावको परिणामलाई लिएर डराउनुपर्ने अवस्था नरहेको बताए। ‘किन म अहिले के देख्छु भन्दाखेरि हाम्रा साथीहरू कता–कता डिफेन्सिभ भएको म पाउँछु। विरोधीहरू आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति! केही आवश्यकता छैन भाग्नुपर्ने,’ नेपालले भने, ‘यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो।’ गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आयोगदेखि सेनाको भूमिकाबारे पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरेका छन्। निर्वाचनका दौरान सेना, सरकार र निर्वाचन आयोगको भूमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उनको भनाइ थियो। ‘यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ। बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले। के–के हो?’ उनले प्रश्न गरे, ‘सेनाको भूमिका कस्तो रह्यो? सरकारको भूमिका कस्तो रह्यो? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो? मतपत्रको अवस्था कस्तो रह्यो? यी सबै कुराहरु पनि एक न एक दिन खुल्दै जाने पनि छ।’ उनले २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख गरे। ‘संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइसकेपछि राज्यका निकायमा एउटा प्रमुख पदमा पुरुष राखिन्छ भने अर्को पदमा महिला हुनुपर्छ भनेर मान्यताका साथ प्रतिनिधित्वको व्यवस्था, नेतृत्वको ठाउँमा समेत पुर्‍याउने गरी संवैधानिक व्यवस्था गर्न पुगेका छौँ,’ उनले थपे, ‘त्यसैगरी चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँमा पनि महिलाको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ।’ पछिल्लो निर्वाचन परिणामलाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै नेपालले कार्यकर्तालाई विचलित नहुन आग्रह गरे। अहिले निर्वाचित भएका नयाँ दलका प्रतिनिधिलाई लक्षित गर्दै उनीहरूलाई मुलुकको परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे जानकारी नभएको टिप्पणी गरे। ‘यी सबै कुरा अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरूलाई? उनीहरूले कुनै भूमिका खेलेका छन्? त्यो बेलामा भूमिका खेल्ने को हुन्?,’ नेपालले भने। विगतको योगदानको रक्षा गर्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न उनले पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।