अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र र सरकार गठनपश्चात् सार्वजनिक गरिएको १ सय बुँदे शासकीय सुधार कार्य योजनालाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्त, सांसदहरूका सुझाव र सरकारको सुशासनको मार्गचित्रलाई बजेटको मूल आधार मानिएको छ । नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार जेठ १५ गते दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गरिनेछ ।

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको रहेकामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबर बनाइएको थियो ।

गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले सो बजेट संशोधन गरेका थिए ।