पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति तथा वितरण प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने बाध्यताका कारण लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
गत भदौ १४ गतेको बाढीपछि सिर्जित समस्या समाधानका लागि नेपाल आयल निगम र ग्यास उद्योग संघबीच छलफल भएको थियो।
छलफलपछि चितवन, मकवानपुर, बारा, पर्सा लगायतका ग्यास उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौं सिलिन्डर ल्याउन दिने निर्णय भएको छ।
हेटौंडाबाट वैकल्पिक मार्ग हुँदै करिब १ सय ३१ किलोमिटर दूरी तय गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप ढुवानी खर्च लाग्ने संघले जनाएको छ।
नेपाल आयल निगमले तोकेको साबिक मूल्य २ हजार ६० रुपैयाँमा थप ढुवानी खर्च जोडेर काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न आग्रह गरिएको छ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै नयाँ सिलिन्डरको बजारीकरण नगर्न र नगराउन उद्योगी तथा बिक्रेताहरूलाई अनुरोध गरेका छन्।
साथै सडक सञ्जाल पुनः सहज नभएसम्म उपभोक्तालाई तोकिएको निर्धारण गरिएको मूल्यभन्दा बढी रकम नतिर्न पनि संघले आग्रह गरेको छ।


