रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब साढे ८ बजे अचानक आएको बाढीका कारण ३८४ जना यात्रु तथा पर्यटकहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा सुरक्षास्थितिको प्रमाणीकरण कार्यलाई तीव्र पारिएको छ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरू उद्धार तथा खोजीमा सक्रिय रूपमा खटिएका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्राभल एजेन्सीहरूसँगको समन्वयमा प्राप्त विवरणलाई प्रमाणीकरण गर्ने काम भइरहेको छ।

विभिन्न पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्। सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ५९ भारतीय र १२ नेपाली गरी ७१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

त्यस्तै काठमाडौं हलिडेका १७ जना, लीफ हलिडेका ५५ जना र कैलाश जर्नीका ३१ जना यात्रु बेपत्ता सूचीमा छन्। एक्सप्लोर भेकेसनका ७ जना नेपाली र ट्रेकर्स सोसाइटीका ९२ जना पर्यटकको पनि हालसम्म कुनै सम्पर्क हुन सकेको छैन।

रिचा टुर एण्ड ट्राभल्सका १२ जना, फिसटेल टुरका २७ जना र अल्पाइन इको ट्रेकका २० जना यात्रु भोटेकोशी क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। हिमालयन ग्लेसियरमार्फत भ्रमणमा गएका ३७ एनआरआइसी र १५ नेपाली गरी ५२ जनाको अवस्था पनि अज्ञात रहेको छ।

सुरक्षा निकायहरूले सबै एजेन्सीहरूबाट प्राप्त नामावलीका आधारमा बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार तथा सूचना संकलनमा कठिनाइ भइरहेको बताइएको छ।