मुक्तिनाथ विकास बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ सुविधा थप गरेको छ ।
बैंकले ग्राहकको सहजताका लागि मोबाइल बैंकिङ सेवा आफैं नवीकरण गर्न मिल्ने ‘सेल्फ–रिन्यु’ सुविधा ल्याएको हो ।

नयाँ व्यवस्थासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखासम्म धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाए । ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका लागि एपमा लगइन गरेपछि देखिने ‘एक्सपायरी पप-अप’ मा गएर ‘रिन्यु नाउ’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी हेरेर ‘कन्टिन्यु’ थिची आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने बैंकले जनाएको छ ।

यस सेवाका साथै बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्ना अन्य महत्वपूर्ण विवरणहरू पनि सच्याउन सक्ने व्यवस्था गरेको छ । ग्राहकले अब एपमार्फत नै आफ्नो राष्ट्रिय परिचयपत्र (एनआईडी), प्यान (पीएएन) नम्बर तथा ईमेल अपडेट गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ छ ।