इरानले आफू र अमेरिकाबिच अब कुनै सम्झौता बाँकी नरहेको बताएको छ।

अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा आक्रमण र पुन: नाकाबन्दी घोषणा गरेपछि इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकासँग भएको सम्झौता अब ध्वस्त भएको बताएका हुन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘अब इस्लामाबाद सम्झौताजस्तो कुनै चिज छैन।’

बुधबार बिहान दक्षिणी इरानमा धेरैवटा विस्फोट भएको बताइएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार बिहान लगभग सात घण्टासम्म इरानविरुद्ध ठुलो सैन्य कारबाही गरिएको बताएको छ।यो आक्रमण हर्मुज स्ट्रेट वरिपरि र इरानी तटमा गरिएको हो।

सेन्टकमका अनुसार, लडाकु विमान, ड्रोन र नौसेना जहाजहरूद्वारा इरानका क्षेप्यास्त्र प्रक्षेपण स्थल, ड्रोन अड्डा, नौसेना स्रोत र तटीय रक्षा प्रणालीमा प्रहार गरेका हुन्।

यसैबिच जवाफमा इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ।

इरानले आफ्नो एउटा ड्रोनले कुवेतमा रहेको अमेरिकी सैन्य गोदामलाई निसाना बनाएको दाबी गरेको छ। आक्रमणको भिडिओ सामाजिक सञ्जालमा सेयर गरिएको छ।

गत जुन महिनामा स्थायी रूपमा युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानले (एमओयू) मा हस्ताक्षर गरेका थिए।

तर हालै हर्मुज जलमार्गमा दुई देशबिच झगडा परेपछि फेरि हानाहान सुरु भएको हो।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा आएन भने अर्को हप्ता विद्युत् केन्द्र र पुलहरूमा बम प्रहार गर्ने धम्की दिएका छन्।

फक्स न्युजलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यदि इरान वार्ताको टेबलमा आएन भने अमेरिकी सेनाले अर्को हप्ता देशका विद्युत् केन्द्र र पुलहरूमा बम प्रहार गर्नेछ।’