प्रधानमन्त्री बालेन र सभापति रविबीच यी बिसयमा सवाल जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच राजनीतिका पछिल्ला जटिलताबारे छलफल भएको छ । आइतबार बिहान सभापति लामिछाने निवास बुढानीलकण्ठमा दुई नेताबिच करिब चार घण्टा छलफल भएको हो । बिहान ११ बजेतिर लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो सवा ३ बजेतिर फर्किएका थिए । उनीहरूबिच पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्रिपरिषद् हेरफेर,संविधान संशाेधनको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई थप प्रभावकारी बनाउने, जनतामा बढ्दै गएको निराशालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने विषयमा छलफल भएको थियाे। ‘पार्टी सभापति र प्रधानमन्त्रीबिच यो नियमित भेटवार्ता हो । त्यही सिलसिलामा कहिले प्रधानमन्त्री निवास बालुवाटारमा, कहिले सभापति निवास बुढानीलकण्ठमा छलफल भइराख्छ । सरकारकालाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ्दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भयो,’दुई नेताबिच भएको छलफलबारे स्राेतले भन्याे, ‘पछिल्लो समय जुन आत्मदाहको घटना घटेको छ, आजको सरकारको कामले मात्र होइन, वर्षौँदेखिको फ्रस्टेसनको उपज हो। त्यसकै पछिल्लो परिणाम हो,गणेश नेपाली र आश्विन राउत लगायतको आत्मदाह प्रकरण । जे भए पनि क्षति भएको छ । परिवारमा पीडा थपिएको छ । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’ शाह र लामिछानेबीचको छलफलमा प्रधानमन्त्रीका सल्लाहाकार कुमार बेन र लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए । भेटमा सभापति लामिछानेले सुकुमवासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर प्रधानमन्त्री शाहसँग चासो राखेका थिए । सभापतिले राज्यले नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, ‘सुकुमवासी व्यवस्थापनको सबै काम भइरहेको छ । अब धेरै समय लाग्दैन । सुकुमवासीले आफ्नो विवरण नदिएका कारणले केही ढिला भएको हो ।’ बैठकमा सहभागीहरूका अनुसार सुकुमवासी समस्यालाई संवेदनशील भएर हेर्नुपर्ने र उनीहरूलाई जग्गा दिएर छिटो व्यवस्थापन गर्नुपर्नेमा दुई जनाबीच समान बुझाइ रहेको थियो । त्यस्तै, त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर मृत्यु भएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको थियो । स्रोतले भन्यो, ‘गणेश नेपालीको बारेमा दोष जसको भए पनि घटना भयो । एउटा परिवारमा बज्रपात पर्यो, सरकारको दायित्व उनीहरूलाई हेर्ने हो । परिवारलाई व्यवस्थापन गर्नुपर्छ । सहारा दिनुपर्छ । स्थानीय र केन्द्रीय सरकारले भूमिका खेल्नुपर्नेमा दुवैजना सहमत हुनुभएको थियो ।’ प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको छलफलबारे जानकारी दिएका थिए । सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे प्रधानमन्त्रीले सभापतिलाई जानकारी गराएका थिए । सरकारले नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी प्रधानमन्त्रीले सभापतिलाई दिएका थिए ।

