काठमाडौं, भदौ १८ – नेपाल माउन्टेनियरिङ्ग एसोसिएसन (NMA) र नेपाल नागरिक लगानी कोष (NIMB) बीच आज विशेष सम्झौता भएको छ। यस सम्झौतापछि NMA का सदस्यहरूलाई कोषले सञ्चालन गर्दै आएका विभिन्न लगानी तथा वित्तीय योजनामा विशेष सुविधा प्रदान गर्ने व्यवस्था मिलेको छ।

सम्झौताअनुसार NMA का सदस्यहरूलाई कोषले हाल सञ्चालन गरिरहेको पेंशन स्किम, बचत स्किम तथा अन्य लगानीजन्य योजनामा सहज पहुँच दिलाइनेछ। यसका लागि नागरिक लगानी कोषले आफ्ना शाखा कार्यालयमार्फत सदस्यहरूको दर्ता तथा आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ।

सम्झौता कार्यक्रम नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत डा. भुवनकुमार दाहाल र नेपाल माउन्टेनियरिङ्ग एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पाबीच सम्पन्न भएको हो। दुवै संस्थाका पदाधिकारीहरूको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यो सम्झौताले पर्वतारोहण व्यवसायसँग संलग्न व्यक्तिहरूलाई दीर्घकालीन सुरक्षा र सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

यस सम्झौताले करिब २६५ वटा कोषका शाखा कार्यालयमार्फत सेवा लिन सकिनेछ। शाखा विवरण कोषको वेबसाइट (www.nimb.com.np/personal-banking/branches) मा उपलब्ध छ।

सम्झौता पश्चात NMA सदस्यहरूले बैंकिङ्ग सेवा, बीमा, सेवानिवृत्ति योजना, आवास कर्जा, स्वास्थ्य कर्जा लगायतका विभिन्न वित्तीय योजनामा सहुलियत पाउने कोषले जनाएको छ।