प्रधानमन्त्री बालेनको भनाइलाई खारेज गर्दै रविलाई भारतकाे ‘रेड कार्पेट’

काठमाडौं । गत वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अचानक स्थगित भयो। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका सचिव मिस्रीले अन्तिम समयमा भ्रमण रोक्नुको कारणबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन्। उच्च स्रोतका अनुसार, विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटको समय मागेका थिए, तर प्रधानमन्त्री बालेनले भेट्न अस्वीकार गरेकै कारण उक्त भ्रमण नै स्थगित हुन पुगेको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री शाहसँग भेटघाटका लागि पटक–पटक प्रयास गरे पनि ती प्रयासहरू असफल हुँदै आएका छन्। प्रधानमन्त्री बालेनले राजदूतसँग ‘वान टु वान’ (एक्लाएक्लै) भेट्न नमानेको स्रोतको दाबी छ। प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेलगत्तै बालेनले कूटनीतिक र राष्ट्रियताका सवालमा चालेका कतिपय कदमले नयाँ दिल्ली अझै पूर्ण रूपमा विश्वस्त हुन नसकेको उच्च अधिकारीहरूको विश्लेषण छ। प्रधानमन्त्री बालेनको व्यवहार, कार्यशैली र प्रस्तुतिलाई लिएर सत्ताधारी दलभित्र पनि बिस्तारै असन्तुष्टि सल्किन थालेको छ। कुनै समय चुनावका बेला बालेनको पक्षमा दह्रो गरी उभिएका सांसद अमरेशकुमार सिंह पछिल्लो समय सार्वजनिक मञ्चबाटै बालेनमाथि आक्रामक रूपमा खनिनुलाई विश्लेषकहरूले यही भूराजनीतिको कडीका रूपमा हेरेका छन्। यहीविचमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भव्य स्वागत गरिएको छ। पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका लामिछानेलाई भाजपा केन्द्रीय कार्यालय (मुख्यालय) मा विशेष स्वागत गरिएको हो। सभापति लामिछाने भाजपा मुख्यालय पुग्दा त्यहाँ परम्परागत सांस्कृतिक झाँकी, बाजागाजा र फूलमालासहित भाजपाका वरिष्ठ नेताहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नविनसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। भेटका क्रममा भाजपा नेताहरूले लामिछानेलाई आफ्नो दलीय संरचना, कार्यप्रणाली र मुख्यालयको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारी गराएका थिए। यसअघि तीन वर्षपहिले तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भाजपाको निमन्त्रणामा दिल्ली भ्रमणमा गएका थिए। सो समयमा सत्ता साझेदार दलको अध्यक्षका रूपमा रहेका प्रचण्डलाई स्वागत गर्न भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले पुगेका थिए । तर सभापति लामिछानेलको स्वागतमा चौथाईवालेसँगै भाजपाका पहिलो वरीयताका राष्ट्रिय महासचिव अरुण सिंह दिल्लीस्थित विमानस्थलमै पुगेका थिए। लामिछानेको यस भ्रमणलाई पनि भाजपाले उत्तिकै महत्त्व दिएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ। सभापति लामिछानेसँग ढुक्क हुन चाहन्छ नेपाल मामिलाका विज्ञ प्राध्यापक एसडी मुनिका अनुसार प्रधानमन्त्री बालेन शाहको कूटनीतिक प्रोटोकल र व्यवहारका कारण नेपाल-भारत सम्बन्धमा देखिएको ठुलो संवादको खाडल पुर्न भारतले रविलाई विशेष निम्तो दिएको हो। नेपालमा बढेको पपुलिजम (लोकप्रियतावाद) र एन्टी-संस्थापन लहर आफ्नो लद्दाखसम्म पुगेपछि झस्किएको दिल्लीले राजनीतिक रूपमा प्रष्ट नभएका र पश्चिमा प्रभावको आशंका गरिएका बालेनभन्दा पछिल्लो समय निकै सन्तुलित र परिपक्व कूटनीतिक व्यवहार देखाउँदै आएका रविलाई बढी सहकार्ययोग्य पात्र ठानेको छ। भारतीय सत्ताधारी दल बीजेपीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा रविले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसहितका उच्च अधिकारीहरूसँग नयाँदिल्लीमा विशिष्ट संवाद गर्ने कार्यतालिका छ। भारत मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्री बालेनको पृष्ठभूमि, कार्यशैली, ‘अनप्रेडिक्टेबल’ छवि र स्थापित कूटनीतिक मर्यादाभन्दा बाहिर गएर निर्णय लिने प्रवृत्तिका कारण नयाँ दिल्ली उनीप्रति ‘सशंकित’ छ। त्यसैले, सभापति लामिछानेको यो भ्रमणलाई उपयोग गर्दै प्रधानमन्त्री बालेनप्रतिको आशंका निवारण गर्ने र नेपालको नयाँ सत्ता शक्तिसँग ‘ढुक्क हुने’ रणनीतिमा दिल्ली देखिन्छ।

