छोरी काण्डमा वीरगञ्जका मेयर राजेशमान पक्राउ

जनकपुरधाम । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । उनका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एकदिन अदालत पुगेर त्यसपछि फरार भएका थिए, हाम्रो खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो । गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ। झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो। मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। चुनावअघि उनी एमाले प्रवेश गरेका थिए ।

