नेविसंघमा पहिलो महिला अध्यक्ष बनिन् करूणा कटुवाल

काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्। सभापति गगन थापाले आज धनकुटाकी कटुवाललाई नेविसंघ अध्यक्ष नियुक्त गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णय बमोजिम सभापति थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन्। समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित कटुवाललाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ। कटुवाल यसअघि नेविसंघ केन्द्रीय सदस्य थिइन् भने कांग्रेस महाधिवेशन प्रतिनिधि पनि थिइन्। नेविसंघको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो। नेविसंघ लामो समयदेखि तदर्थ समितिको भरमा सञ्चालित छ। यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए। तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै कांग्रेसले ५ भ्रातृ संस्था स्वत: विघटन गरेको थियो। नेपाल महिला संघ, तरूण दल र नेविसंघमा अहिले नेतृत्व चयन गरिएको छ।

