काठमाडौं । भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा भव्य स्वागत गरिएको छ । नेपालका शीर्ष नेताका रूपमा उच्च महत्व दिएअनुसार उनलाई नयाँदिल्लीस्थित ६ ए–पण्डित दीनदयाल उपाध्याय मार्गस्थित भाजपा मुख्यालयमा पुष्पगुच्छा र रातो कार्पेटले स्वागत गरिएको थियो । सभापति लामिछानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गरेका थिए । लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले मंगलबार नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्वअध्यक्ष अमित शाह र विदेशमन्त्री डा. एस जयशंकरसँग छुट्टाछुट्टै छलफल गरेको छ । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तय भएको छ । भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहोरा सहभागी थिए । सभापति लामिछानेपत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा सहभागी भइनन् । उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, बिहारका सांसद सञ्जय जैसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेतृ सुष्मा स्वराजकी पुत्री बाँसुरी स्वराज सहभागी थिए । मंगलबार महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जनाउ दिएका छन् । सभापति लामिछानेले भाजपाका समकक्षी नितिनलाई एक्समा धन्यवाद दिने क्रममा भेटवार्ताप्रति खुसी व्यक्त गरेका छन् । ‘दुई दलहरूको सम्बन्धमा दृष्टिकोणहरूको यो आदान–प्रदान र नयाँ पुस्ताको नेतृत्वको भूमिकालाई प्रवर्द्धन गर्ने कुराले एउटा महत्वपूर्ण कदम अगाडि बढाएको छ । हामी नेपाल र भारतबिचको सम्बन्ध अझ प्रगाढ बनाउन यस जगमा अघि बढ्न उत्सुक छौँ,’ लामिछानेले भनेका छन् । यस्तै, द्विपक्षीय छलफलले दलगत कूटनीतिको अभ्यास अघि बढाएको रास्वपाले जनाएको छ । ‘दुई छिमेकी राष्ट्रबिचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासहरूमाथिको संवादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको थियो,’ रास्वपाले भनेको छ, ‘यसका साथै भेटमा सुदृढ सांगठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदान–प्रदान गरिएका थिए ।’ रास्वपाले भेटले दुई दलबिचको आपसी समझदारी नयाँ उचाइमा पुर्‍याउनुका साथै रास्वपाको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक परिपक्वतालाई थप बल पुर्‍याउने विश्वास लिएको छ । यसैगरी, भेटपछि भाजपाद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष नितिनले नेपाल र भारतबिच साझा सभ्यतागत सम्पदा, सांस्कृतिक सम्बन्ध र सुदृढ जनस्तरको सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले यस्ता अन्तरक्रियाहरूले दुई देशको घनिष्ट एवं ऐतिहासिक सम्बन्ध थप सुदृढ गर्न, लोकतान्त्रिक संवाद सुदृढ बनाउन र भाजपा एवं रास्वपाबिचको पार्टीगत संलग्नता थप गहिरो बनाउन मद्दत पुग्ने बताएका थिए । अध्यक्ष नितिनले भाजपाको यात्रा, विचारधारा, संगठनात्मक संरचना र राजनीतिक संलग्नताका लागि यसको जनकेन्द्रित दृष्टिकोणबारे जानकारी गराएका थिए । उनले भाजपाको राष्ट्रिय तहदेखि बुथ (मतदान केन्द्र) तहसम्मको पार्टीको संगठनात्मक मोडेलसमेत सुनाएका थिए । यसबाहेक उनले जगैदेखि (तल्लो तहमा) जनतासँग प्रत्यक्ष र निरन्तर सम्पर्क कायम राख्न भाजपा कार्यकर्ताहरूको भूमिका रहेको उल्लेख गरेका थिए । ५१ वर्षीय लामिछाने र ४६ वर्षीय नितिनले दुवै देशको राजनीतिमा जेन–जी (नयाँ पुस्ता)को बढ्दो भूमिका र सम्भावनाबारे पनि छलफल गरेका छन् । ‘उहाँहरूले विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भावी नेतृत्वलाई आकार दिने सन्दर्भमा उनीहरू (नयाँ पुस्ता)को भूमिकामाथि चर्चा गर्नुभयो,’ भाजपाले भनेको छ । रास्वपा प्रतिनिधिमण्डलले पार्टी मुख्यालयमा रहेको भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको छ । अध्यक्षद्वयबिचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि भाजपा मुख्यालयमा अध्यक्ष नितिनले दिवाभोज आयोजना गरेका थिए । दिवाभोजसहितको अन्तरक्रियामा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, भाजपा नेता मनोज तिवारी, प्रवीण खण्डेलवाल, बाँसुरी स्वराज, हर्ष मल्होत्रा र रामवीरसिंह बिधुडीलगायत सहभागी रहेको भाजपाले जनाएको छ । मुख्यमन्त्री गुप्ता र नेता तिवारीले एक्समा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्ता फलदायी भएको उल्लेख गरेका छन् । भेटपछि भाजपा अध्यक्ष नितिन नवीनले सामाजिक सञ्जाल एक्समा नेपालीमा लेखेका छन्, ‘भाजपा चिनौँ पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुसी लागेको छ । भाजपा र रास्वपाबिच पार्टीस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो ।’ सभापति रवि लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलसँग भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस. जयशंकरले मंगलबार बेग्लाबेग्लै भेटवार्ता गरेको छन् । विदेशी नेतासँग कमै मात्र भेटवार्ता गर्ने गृहमन्त्री शाहले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका छन् । यसअघि शाहले प्रधानमन्त्रीको विदेश दूतको हैसियतमा दिल्ली पुगेका तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भदौ ०७३ मा निवासमै भेटेका थिए । रास्वपाका अनुसार सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबिचको भेटवार्तामा दुई देशबिचको अन्तरदेशीय कनेक्टिभिटी बढाउने, सीमापार अपराधलाई जरैदेखि नियन्त्रण गर्ने र विपत् व्यवस्थापनमा संयुक्त संयन्त्र बलियो बनाउने विषयमा गम्भीर र परिणाममुखी छलफल भएको रास्वपाले जनाएको छ । भेटमा दुवै पक्षले भारत र नेपालबिचको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने आफ्नो दृढसंकल्प व्यक्त गरेको गृहमन्त्री शाहको कार्यालयले जारी गरेको प्रेस नोटमा छ । निर्वाचनमा रास्वपाको विजयका लागि गृहमन्त्री शाहले सभापति लामिछानेलाई बधाई दिनुका साथै नयाँ सरकारको सफलताका लागि भारतको तर्फबाट शुभकामना व्यक्त गरेका थिए । यस्तै, सभापति लामिछाने र भारतीय विदेशमन्त्री डा. जयशंकरबिचको भेटमा साझा समृद्धि र समुन्नतिका लागि नेपाल–भारत विकास साझेदारी तथा जनस्तरीय सम्बन्धबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । भेटमा रास्वपा नेताहरू विपिन आचार्य, दीपक बोहोरासँगै भारतस्थित नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा पनि सहभागी थिए । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले एक्समा भने, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग आज दिल्लीमा भेटघाट गर्न पाउँदा खुसी लाग्यो । हाम्रो छलफल नेपाल–भारत विकास साझेदारी र जनता–जनताबिचको सम्बन्धमा केन्द्रित रह्यो । विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरू (विकास साझेदारी र जनस्तरको सम्बन्ध)को महत्वपूर्ण भूमिका छ ।’ यस्तै, सभापति लामिछानेले जयशंकरलाई धन्यवाद दिँदै लेखेका छन्, ‘हामीले हाम्रो विकास साझेदारी र बहुआयामिक संलग्नताहरूमा केन्द्रित हुँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा एक रचनात्मक संवाद गर्‍यौँ ।’ नयाँ पत्रिकाबाट