ललितपुर, भदौ ८ ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा दसभ्येसीय “हिमाली जलाधारमा स्वाटको प्रयोग” विषयक तालिम आज सम्पन्न भएको छ।

कलेजका सिभिल इन्जिनियरिङका शिक्षक, विभिन्न संस्थाका प्रशिक्षार्थी तथा भर्खरै स्नातक पूरा गरेका विद्यार्थी गरी कुल १० जनाले तालिममा सहभागिता जनाएका थिए।

स्वाट सफ्टवेयरमार्फत हिमाली जलाधारको विस्तृत अध्ययन गर्न सकिने भएकाले नेपालसहित अन्य मुलुकमा यसको प्रयोग बढ्दै गएको छ। यस प्रविधिबाट बाढी तथा दुबानको पूर्वानुमान गर्न सकिने भएकाले क्षति न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताइन्छ।

प्रशिक्षार्थीहरूले तालिमपछि आत्मविश्वास बढेको बताएका छन्। उनीहरूले आगामी सेमेष्टरमा विद्यार्थीहरूलाई स्वाट सफ्टवेयरमार्फत प्रोजेक्ट गराउने र आफ्नै विद्यावारिधी अध्ययन तथा कन्सल्टिङ कार्यमा समेत यसको प्रयोग गर्ने योजना सार्वजनिक गरेका छन्। केहीले अनुसन्धान प्रस्ताव पेश गर्ने तयारीसमेत जनाएका छन्।

तालिमका प्रमुख प्रशिक्षक जलविद्युत इन्जिनियर रूपेश बानियाले सहभागीहरूलाई प्रत्यक्ष अभ्यास गराएका थिए। सबैको ल्यापटपमा सफ्टवेयर इन्स्टल गरिएकाले तालिम तुरुन्तै उपयोगी हुने बताइएको छ।

समापन कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारी र सहायक प्रिन्सिपल इन्जिनियर राजन लामाले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे। सो अवसरमा सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली, कम्प्युटर विभाग प्रमुख इन्जिनियर मुकुन्द पौडेल, स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा, वरिष्ठ लेक्चरर राजेन्द्र भट्टराई तथा प्रशासन प्रमुख एकराज आचार्यले बधाई दिएका थिए।

प्रशिक्षार्थीहरूले तालिमको व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै भविष्यमा जलवायु परिवर्तन, एआई प्रयोग र हाइड्रोलिक मोडलिङमा समेत यस्तै तालिम सञ्चालन गर्न आग्रह गरेका छन्।

एभरेष्ट इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई रोजगारमूलक तथा व्यवहारिक तालिम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई पढाइकै क्रममा दक्षता हासिल गराई रोजगारी पाउन सहज बनाएको कलेजले जनाएको छ।