यस एन आई सी एशिया बैंक लिमिटेडको मिति २०७९ कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले श्री रोशन कुमार न्यौपानेज्यूलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएका श्री न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका श्री रोशन कुमार न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले वहाँलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि वहाँ मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित हुनुभयो । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका श्री न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान हुनुभएको थियो ।

वहाँले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि वहाँको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।

प्रमुख कार्यकारी अधिकृतको रुपमा न्यौपानेको कार्यकाल आ.व. २०७३/७४ देखि गत आ.व. २०७८/७९ सम्म यस बैंक तथा समग्र बैंकिङ्ग क्षेत्रको विभिन्न सूचकांकहरुको तुलनात्मक अवस्था निम्नबमोजिम रहेको छ ।

Amount in Rs. Million
Particulars FY 073/074 FY 078/079 Growth In Times NICA Rank
Industry NICA FY 073/074 FY 078/079
1. Risk Assets 72,035 268,236 2.43 3.72 9th 3rd
2. Total Deposits 86,697 294,977 2.17 3.40 9th 2nd
3. LCY Deposit 85,446 294,529 2.22 3.45 8th 2nd
Saving Deposit 24,787 78,658 1.81 3.17 11th 4th
NIB Deposit 3,482 38,733 2.31 11.12 18th 3rd
CASA Deposit 28,269 117,391 1.93 4.15 12th 3rd
4. Balance Sheet Size 101,194 358,424 2.18 3.54 10th 2nd
Bottom Line:
5. Net interest income 2,538 11,772 1.96 4.64 12th 1st
6.Total Non-Interest Income 903 2,934 1.77 3.25 13th 2nd
7.Total Revenue 3,441 14,706 1.90 4.27 11th 1st
8.Operating Profit Before Provision 1,859 8,027 1.87 4.32 17th 3rd

Particulars FY 073/074 FY 078/079 Growth In Times NICA Rank
Industry NICA Industry NICA
9. NPL Ratio (%) 0.36% 0.49% 0.75 1.37 4th 4th
10. Return on Equity (%) 19.52% 19.65% 0.60 1.01 15th 1st
11. Earning Per Share (In NPR) 21.96 39.13 0.84 1.78 17th 1st
12. Market Price Per Share (In NPR) 445.00 696.00 1.56 11th 2nd
13. Market Capitalization 29,782 80,485 2.70 11th 2nd

Particulars FY 073/074 FY 078/079 Growth In Times NICA Rank
Industry NICA Industry NICA
14. Customer Base
No. of Deposit Accounts 571,170 3,454,557 2.41 6.05 NA NA
No. of Loan Accounts 30,638 93,808 1.66 3.06 NA NA
No. of Mobile Banking 121,000 1,972,635 6.60 16.30 NA NA
No. of Internet Banking 47,911 145,609 1.67 3.04 NA NA
No. of Debit Card 160,000 1,516,021 2.19 9.48 NA NA
15. Delivery Channel and Footprint
No. of Branch 119 359 2.2 3.02 NA 1st
No. of ATMs 70 474 2.26 6.77 NA 1st
No. of Extension Counters 4 102 25.50 NA 1st

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३/७४ मा बैंकको वासलातको आकारमा १० औं स्थान थियो । उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आ.व.सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ । आ.व. २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार २.१८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आ.व. २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो । त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ । आ.व. २०७३/७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९ औं स्थानमा रहेको बैंकले गत आ.व.सम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पुर्याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ.व.को प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ । समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आ.व. २०७३/७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ ।

बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहक महानुभावहरुको प्रगाढ विश्वास दर्शाउनुभएको हो । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहक महानुभावहरुको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्याउन सफल भएको छ । साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आ.व. सम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ । पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ । आ.व. २०७३/७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक महानुभावहरुको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग ६.६० गुणा र इन्टरनेट बैंकिङ्ग १.६७ गुणाले वृद्धि भएको छ ।

साथै, यस बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २.२ गुणा, एटीएम २.२६ गुणाले वृद्धि भएको छ ।

आ.व. २०७३/७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १.९ गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले वृद्धि भएको थियो । यस अवधिमा स्व–पूँजीमा प्रतिफल १.०१ गुणाले वृद्धि गर्दै १९.५२ प्रतिशतबाट १९.६५ प्रतिशत, प्रति शेयर आम्दानी १.७८ गुणाले वृद्धि गर्दै २१.९६ रुपैयाँबाट ३९.१३ रुपैयाँ पुगेको छ । समग्र बैंकिङ्ग क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व–पूँजीमा प्रतिफल ०.६० गुणा र प्रति शेयर आम्दानी ०.८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २.७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै समग्र बैंकिङ्ग क्षेत्रलाई पुनः परिभाषित गर्न सफल भएको छ । रणनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित हुनुभएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेले सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित हुनुभएको थियो । त्यसैगरी वहाँले मुलुकभरका सीईओहरुको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित हुनुभएको छ । वहाँ बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित हुनुभएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारासहित सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बनाउन मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्याय जस्ता राष्ट्रिय लक्ष्य प्राप्तिमा वहाँ प्रमुख कार्यकारी अधिकृतमा भएको पुर्ननियुक्तिले थप योगदान पुर्याउने विश्वास बैंकले लिएको छ । साथै, वहाँको आगामी कार्यकालमा बैंकको व्यवसायिक सफलता एवं देशको आर्थिक वृद्धिमा अमूल्य योगदान हुनेछ भन्ने पूर्ण विश्वासका साथ वहाँलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार वहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।