कमिशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको विषयले संसदमा प्रवेश पाएको छ । आजको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले यस विषय उठान गरेका हुन् ।

उनले अहिले भएको स्टक एक्सचेन्ज सक्षम बनाउनुको साटो सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै यस विषयमा के भएको हो भन्दै सरकारको जवाफ माग गरेका हुन् । उनले कमिशनको खेलमा लागेर नयाँ नयाँ स्टक एक्सचेन्ज ल्याउने हो भने पुँजीबजारको विकास र उन्नतिमा बाधा पर्ने बताए। उनले भएको स्टक एक्सचेन्जलाई सक्षम गर्न, सुदृड बनाउन तथा आधुनिकीकरण गर्न माग गरेका छन् । उनले अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता समेत नभएकोले नयाँ स्टक एक्सचेन्जको लाइसिएन्स प्रक्रिया रोक्न माग गरेका छन् ।

अर्थ मन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयले निजि कम्पनीको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने तयारी गरेपछि संसदमा यसको विरोध भएको हो ।दैनिक औसतमा डेढ अर्ब मात्रको कारोवार हुने नेपालको पूँजीबजारबारे कुनै वृहत अध्ययन र प्राविधिक पक्षहरूको विश्लेषण नगरी सरकारले प्राइभेट लिमिटेड कम्पनीलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन मिल्ने गरी तयारी थालेको हो ।

नेपाल धितोपत्र बोर्डले यससम्बन्धी नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाएको छ । यस अगाडिको कानूनी व्यवस्थाअनुसार प्राइभेट लिमिटेड कम्पनीलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नमिल्ने भएपछि नियमावली नै संसोधन गर्नलाई नेपाल धितोपत्र बोर्डले उक्त प्रस्ताव तालुकदार मन्त्रालय अर्थमा पठाएको हो ।

अग्निज्वालालाइ प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको स्वीकृतिमा नै विवादित बिचौलिया दिपक भट्टको संयोजकत्व र साहिल अग्रवालको लगानीको कम्पनीलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको हो ।