गभर्नर एमालेको अर्थ विभाग सदस्य रहेको खुलासा ,राजीनामा गर्न चौतर्फी माग

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नयाँ लफडामा परेका छन् । एमालेको अर्थ तथा योजना विभाग सदस्यमा नियुक्त भएको विषय बाहिरिएपछि उनीमाथि प्रश्न चिन्ह तेर्सिएको छ । केन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने ठहरसहित वामपन्थी विश्लेषकहरुले समेत व्यङ्ग्यमिश्रित बधाई दिएका छन् । खोटाङ्गकै वाम विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमा, ‘मेरा अनन्य मित्रहरु माननीय घनश्याम भुसालको प्रमुखतामा अनन्य मित्रत्रय कमरेड योगेन्द्र शाही सचिव र प्रा.डा. रामचन्द्र आचार्यसहित मेरै जिल्लावासी राष्ट्र बैंकका गभर्नर यम.अधिकारीलाई देशको ठूलो दल एमालेले अर्थ तथा योजना विभागमा सदस्य नियुक्त गरेकोमा उहाँहरु सबैमा कार्यकालको शुभकामना,’ दिएका छन् । गभर्नर अधिकारी यसअघि नेता सुरेन्द्र पाण्डे प्रमुख रहेको सोही विभागमा सदस्य थिए । उनको नाम १६ नम्बरमा थियो । त्यतिबेला बैंककै डा. गोविन्दबहादुर थापा पनि सदस्य थिए । थापाको गत वर्ष निधन भैसकेको छ । तर यस पटक उनै महाप्रसादलाई अप्ठेरो नपार्न छोटकरी रुप एम.उल्लेख गरी विभागमा निरन्तरता दिइएको बताइन्छ । उनको घर खोटाङ नै हो । उनले आफ्ना सबै विवरणमा गृहजिल्ला खोटाङ नै उल्लेख गर्ने गरेका छन् । पार्टीको विवरणमा पनि एम. अधिकारीको जिल्ला खोटाङ लेखिएकाले पहिले र अहिलेका अधिकारी उनै गभर्नर भएको एमाले स्रोतले बताएको छ । जनआस्थालाई प्राप्त अर्को विवरणमा पनि सुरेन्द्र पाण्डे प्रमुख हुनुअघिको एमाले अर्थ विभागमा अधिकारीको नाम देखिन्छ । खोटाङ्ग घर उल्लेख गरिएका अधिकारीसँगै राष्ट्र बैंकबाट अहिले सेवानिवृत्त निर्देशक शिवादेवी काफ्ले पनि सदस्य रहेको उल्लेख छ । अध्यक्ष ओलीले पुराना र जीवित सबैलाई दोहोर्याउन भनेको र कार्यालय सचिव डा.भीष्म अधिकारीले एकचोटि “के गरौं” भनेर सोध्दा “राख्ने हो र,के नै फरक पर्ला र !” भन्ने सम्मति प्राप्त भएपछि एम.अधिकारीको नाम कायम गरिएको आज बिहान एमाले केन्द्रीय कार्यालय श्रोतले बताएको छ ।


