सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

अब टाटा मोटर्सको कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकलाई व्यावसायिक तथा निजी प्रयोजनका सवारी–साधन खरिद गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने जनाइएको छ ।
यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्र्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेको जनाइएको छ ।
सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदीका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

