ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले आज (भदौ १ गते सोमबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको सीईओको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए ।कार्यक्रममा बोल्दै नवनियुक्त सीईओ बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुबै रहेको बताए । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए ।“उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले बताए ।“मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।”- उनले भने ।

बैंकको सञ्चालक समितिको २०७७ साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा नेतृत्व गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।