नयाँ पत्रिका बैंकमा साढे ६ क्विन्टल सुन : बजारमा मूल्य उच्च, बिक्री सुन्य शिर्षकमा लेख्छ, सुनको भाउमा अचाक्ली वृद्धि भएपछि नेपाली बजारमा सुन कारोबार ठप्प जस्तै भएको छ। बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ। बैंकले लिन आउ भन्छ। तर, बजारमा माग छैन।, नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद बिक्री भयो। दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको सुन दुई महिनायता प्रतितोला दश हजारले बढिसकेको छ।
सुनको भाउ आकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको छ। सुनपसल सुनसान देखिएका छन्। कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित बनेको हो। अमेरिका–चिन व्यापार युद्ध, अमेरिका इरान तनाव र भारतको कस्मिर विवादले सुनको भाउ अन्तर्राष्ट्रियस्तरमै आकासिएको हो।
यस्तै नागरिक नेकपामा राष्ट्रपतिको सक्रियता : जबज जोगाउन वामदेवलाई उपाध्यक्ष शिर्षकमा लेख्छ, सत्तारुढ नेकपा भित्रको विवाद एकाएक साम्य भएको देखिएपनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ। पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो।
गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारीप्रति अध्यक्षद्वयपछिको स्थानमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। पार्टीमा खनाललाई तेस्रो स्थान दिँदा नेपालको वरीयताक्रम पछि धकेलिने छ। त्यसमाथि पनि नेपालाई कर्नरमा पार्नेगरि सचिवालय बैठकमा नेताहरु प्रस्तुत हुन थालेपछि नेकपाभित्रको विवादले उग्ररुप लिएको छ।
एक महिनायता पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद बढेसँगै गुट व्यवस्थापन र आगामी कार्यदिशाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो राखेको स्रोतको दाबी छ।


